प्रदेश सरकारमा दुई हजार कर्मचारी

काठमाडौं, १३ पुस- सरकारले प्रदेश सरकारका लागि आवश्यक पर्ने कर्मचारी पठाउने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमा एक जना सचिव र मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी भएको राजधानी दैनिकमा खबर छ ।

सरकारले प्रदेश प्रमुख नियुक्ति र कर्मचारी तोक्ने तयारी अघि बढाएको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश प्रमुखको नियुक्ति हुन नसक्दा कर्मचारी खटाउने बाटो बन्द भएकाले बाटो नखुलेसम्म कर्मचारी फिल्डमा पुग्नेछैनन् । प्रदेश प्रमुखदेखि प्रदेश मन्त्रालयका सचिवहरूसमेत तोक्ने अन्तिम तयारीमा सरकार छ । प्रदेशस्तरमा कम्तीमा आठ निकाय हुनेछन् । जसमा प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालय रहने व्यवस्था छ ।

यस्तै मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आर्थिक विकास मन्त्रालय रहनेछन् । सबै निकायमा कर्मचारीको व्यवस्थाका लागि सरकारले आवश्यक तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
‘प्रदेश निर्वाचनपछि प्रदेश सरकार सञ्चालनमा आउने भएपछि सरकारका तर्फबाट कर्मचारी पठाउने तयारी अन्तिम चरणमा पुगेको छ,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने । उनका अनुसार प्रदेश सरकारका लागि मात्रै कम्तीमा २ हजार कर्मचारी चाहिन्छ । ‘प्रदेश सरकारका लागि कम्तीमा २ हजार कर्मचारी आवश्यक पर्ने भएकाले सोहीअनुसार व्यवस्थापन गर्न लागिएको छ,’ उनले भने ।

एक पटक पढ्नुहोस