पनौती ।
काभ्रे जिल्लाको पनौती नगरपालिकाको १३ औं नगर सभा सोमबार सम्पन्न भएको छ । सभामा ०८०/०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यवसहितको बजेट पास भएको छ । सभाले २०७९/२०८० को वार्षिक प्रतिवेदन तथा नगरपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ ।

नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि असार १० गते शुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । कर्मचारी सम्बन्धी ओएनम सर्वे सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुनै पाएको थिएन ।
सोमबार आयोजित सभामा उक्त प्रस्ताव कार्य सूचीमा समावेश गरिएन । सभामा नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँडबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित जोडेर १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
नगर प्रमुख रामशरण भण्डारीले आगामी वर्ष नगर स्तरीय योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताएका छन् । सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगर स्तरीय सबै र वडा स्तरीय १० लाख रुपैयाँ भन्दा माथिका सबै योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख गरिएको छ । यता बजेटमा जनसहभागिता मार्फत ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
‘पनौती नगरको दिगो विकासको आधार, गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ भन्ने नारालाई सार्थक बनाउन समृद्धि पनौती निर्माणको अभियानलाई तीव्रता दिनेछौँ’–नगर प्रमुख भण्डारीले सम्बोधन गर्दै भने –‘नदी एवं खानीजन्य श्रोतको उत्खनन, प्रशोधन ओसारपसारलाई व्यवस्थित गराउँदै वडा नम्बर २ र १२ का प्रभावित क्षेत्र सिमाङ्कन गरी खानीजन्य क्षेत्र घोषणा गरिने छ ।’ वडा कार्यालय पुग्ने सडक कालोपत्रे, सिसि क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेशिनको प्रबन्ध गर्ने, नगर क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण सम्र्वद्धन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
डिजिटल पनौतीको अवधारणलाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने, भूमिहीन सुकुम्बासीहरुलाई धनी प्रमाणपुर्जा वितरण गर्ने, प्रदुर्षण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगर भित्र औद्योगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने, खोपासी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा रूपान्तरण गर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इ लाइब्रेरी सर्भरको व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई संघ संस्था एवं नगरको सहकार्यमा तीर्थाटन गर्ने उल्लेख गरिएको छ ।
सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जिकरण तथा सामाजिक सुरक्षा, विपद व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक श्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत नगरपालिकामा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर सभामा अर्थ विधेयक वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गरेका थिए भने विनियोजन विधेयक वडा अध्यक्ष विपिन लामाले प्रस्तुत गरेका थिए । ०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए। यता लेखा समिति गठन कार्यविधि २०८० सम्बन्धी प्रस्ताव वडा अध्यक्ष जयराम केसीले प्रस्तुत गरे भने लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष शहकुलकुमार हुमागाईँले प्रस्तुत गरेका थिए। 
न्यायिक समितिको प्रतिवेदन कार्यपालिका सदस्य चण्डिका परियार, मेलमिलापकर्ताहरुको नाम सूचीकृत सम्बन्धी प्रस्ताव कार्यपालिका सदस्य राधिका विश्वकर्माले प्रस्तुत गरेकी थिइन् ।
