काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए ।
बालुवाटारमा भएको छलफलमा माओवादी दलका नेता इन्द्र आङ्बोले मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।
मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले पनि दाबी गरेका छन् । तर गठबन्धनमा रहेको अर्को दलले बहुमत पुर्याउन सक्छ भने नेतृत्व छाड्न सक्ने संकेत उनले गरेको बुझिएको छ ।
कोशी प्रदेशमा यसअघि असारमा पनि आङ्बोको नेतृत्वमा सरकार बनाउने लगभग सहमति भएको थियो । तर, शीर्ष तहमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएपछि २१ असारमा कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री बनेका थिए ।
११ साउनमा सर्वोच्च अदालतले थापाको नियुक्ति खारेज गरिसकेको छ । प्रदेश सरकार गठनको लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति खारेज गरेको थियो ।
