काठमाडौं । एमाले सचिवालयबाट परिमार्जित विधान मस्यौदा पोलिटब्युरोमा आज दिउसो १ बजे बस्ने बैठकमा पेश गरिने भएको छ । बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पु¥याउनुपर्ने अनौपचारिक सहमति बनेको बताइएको छ ।
जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१, उपाध्यक्ष–५ र सचिव– ७ जना प्रस्ताव गरिएको छ । यद्यपि यो अन्तिम नभएको स्रोतले जनाएको छ । खाकासहित परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउन पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई जिम्मा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सचिवालयमा पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेकोमा पछि २५१ सदस्यीय बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । जसअनुसार हाल ९९ सदस्यीय पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ । उपमहासचिव सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ ।
यसै गरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।सचिवालयबाट पारित संशोधन प्रस्ताव पोलिटब्युरो, केन्द्रीय कमिटी (साउन ५) हुँदै आगामी भदौ २०–२२ को गोदावरीमा हुने विधान महाधिवेशनमा अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।
