After header

लम्पी स्किन बाट मरेका पशुको किसानलाई वडाले राहत दिने

शुकदेव थपलिया काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर २ ले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिको आधारमा पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा पशुपालक किसानको उक्त रोगबाट हजारौंको संख्यामा पशु मरेको छ । सो रोगको पर्याप्त उपचार समेत नपाइरहेको सन्दर्भमा मृत्यु भएका पशुको आधारमा किसानको लागि राहत रकम उपलब्ध गराउनु सकारात्मक साहसिक र कृषकको पक्षमा निर्णय गरिएको भन्दै वडा समितिको सर्वत्र प्रशंसा समेत गरिएको छ । आईतबार बसेको निर्णयमा धुलिखेल नगरपालिका वडा नम्बर २ ले तत्काल राहत दिने निर्णय गरेको छ । उक्त वडामा हालसम्म ६५ वटा गाई मरेका छन । वडा समितिले आईतबार ०८०/२१ गतेका दिन गरेको निर्णयमा धुलिखेल नगर- पालिका वडा नः २ भित्रको किसानको पशुपालन नै मुख्य आम्दानीको स्रोत भएकोले किसानको मनोबल उच्च राख्न पनि यो निर्णयले सहयोग पुग्ने वडाअध्यक्ष अर्जुन न्यौपानेले बताए । उनकै अध्यक्षतामा बसेको बैठकमा उपस्थिति कार्यपालिका सदस्य सिता पराजुली कोइराला, वडा सदस्यहरू सुप्पिता बराल, सुवलाल तामाङ, सूर्य-प्रकाश ढुंगाना र वडा सचिव प्रतिमा करवाल को उपस्थितिमा यो निर्णय गरेको बताइएको छ । बैठकले राहत दिने र बृक्षरोपण कार्यक्रम बारे निर्णय गरेको छ ।

बैठकले सो वडा भरि लम्पी स्कीन रोगको महामारीको कारण मृत्यु भएको दुहुनो गाईको लागी प्रति गाई रु १० हजार र ४ महिना कटेको कोरली बाच्छीको हकमा रु ५ हजार प्रति पशु दिने निर्णय गरेको छ । बैठकले उक्त राहत रकम ०८०/८१ को देवी प्रकोप फोर्ष तथा वडा स्तरीय कार्यक्रम ०८०/८१ को पशु सेवा कार्यक्रम बाट राहत रकम बितरण गरिने बताइएको छ । वडा अध्यक्ष अर्जुन न्यौपाने भन्छन् यो राहत किसानको लागि थोरै मात्रै भए पनि सदभाव मात्रै हो हामीले पर्याप्त बजेट पाएका थियौं भने किसानको पशुपालनमा सबै खाले उपचारको जिम्मा पनि लिन्थ्यौं तर बजेट अभावमा संभव छैन । अहिले गरेको निर्णय पनि किसानका लागी पर्याप्त होइन । त्यति धेरै किसानका लाखौं बराबरको क्षति भएको छ । यो एउटा थोरै मल्हम पट्टी गर्ने र हामी किसानका हरेक दुःखमा सँगै छौँ आभाष मात्रै दिलाउने भन्ने हाम्रो निर्णय हो । वास्तवमा किसानका त्यत्रो क्षतिमा हामीले त्यतिकै हेरेर बस्नु पक्कै हुँदैन । यस्तै धुलिखेल वडा नम्बर ८ ले आफ्नै बजेट बाट लम्पी स्किन रोगको औषधी उपचार निशुल्क गरेको छ । नगरपालिकाले पशुमा देखिएको महामारी जन्य रोगको पर्याप्त खोप तथा औषधी वितरण नगर्दा वडापालिकाले किसानको लागि सामाजिक जिम्मेवारी पूरा गरिरहेको यो कुराले सर्वत्र चर्चा पाएको छ । जिल्लामा १३ पालिकामा यस महामारीको रोग लम्पी स्किन बाट ५० हजार बढी पशुको क्षति भइसकेको छ । यसको आधिकारिक तथ्यांक जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत राख्न सकेको छैन । केही स्थानीय पालिकले यसको उपचारको लागि भन्दै खोप खरिद गरी खोप कार्यक्रम चलाएको भए पनि पर्याप्त नतिजा र रोग नियन्त्रण गर्न सकिरहेको छैन ।

एक पटक पढ्नुहोस