After header

‘सैतानी ब्याज’ को डरलाग्दो पासो

काठमाडौँ, १९ पुस- ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् ।
गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा चलिरहेको छ । उनीहरूको भनाइ छ– ‘सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजारदेखि दुई लाखसम्म ऋण दिएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहले तीन–चारवटा फर्जी कागज बनाएर ऋणीमाथि ब्याजको पासो थापेका छन् ।’ लिएभन्दा धेरै रकमको फर्जी कागज बनाएर प्रदेशीले ऋणीविरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेको पीडितको आरोप छ ।

यसबारे बुझ्न खोज्दा प्रदेशी सम्पर्कमा आएनन् भने उनका छोरा सुजय साहले ऋणीले पैसा पचाउन नाटक गरेको दाबी गरे ।
मधेसमा चर्को ब्याजमा ऋण दिने र कागज बनाएर त्यसैका आधारमा ऋणीलाई वर्षौंसम्म शोषण गरिरहने अवस्थालाई ‘सैतानी ब्याजको पासो’ भन्ने चलन छ ।
श्याम प्रदेशीको मिटर ब्याजको धन्दाबारे जिल्लाका अधिकांश प्रमुख दलका नेता, सबैजसो सरकारी कार्यालयका प्रमुख जानकार छन् ।
प्रदेशीले अधिकांश दलित, भूमिहीन र महिलालाई ऋण दिएका छन् । आफूअनुकूल हुने गरी उनीहरूलाई करकापमा पारेर फर्जी कागजात तयार पारेका छन् ।
तिनै कागजातका आधारमा उनी ऋणीबाट साँवाको दोब्बर र तेब्बरसम्म रकम असुल्छन् । जब ऋणी तिर्नै नसक्ने हालतमा पुग्छन् अनि अदालतमा लेनदेन मुद्दा दायर गर्छन् ।
सर्लाही जिल्ला अदालतका कर्मचारी दिनेश मिश्रका अनुसार प्रदेशी र उनको परिवारका नाममा जारी लेनदेनको ५० मुद्दामा प्रदेशीको पक्षमा फैसला गरी अदालतले ३५ दिने पुनरावेदनको म्याद जारी गरिसकेको छ ।
यस्तो म्याद तामेल भएको सात दिनभित्र अदालतमा उपस्थित नभए कानुनबमोजिम सजाय हुने व्यवस्था छ ।

प्रदेशीले दायर गरेका लेनदेनका ३५ मुद्दा भने अदालतमा फैसलाका क्रममा छन् । सोही मुद्दाका आधारमा दुई ऋणीले जेल सजाय भोगिरहेका छन् । प्रदेशीले ऋणीहरूसँग छोरी इला साह, ज्वाइँ रामबाबु साहदेखि छोरा सुजय साह, श्रीमती रन्जु साहसम्मले ऋण दिएको कागज बनाएका छन्, कान्तिपुरमा खबर छ  ।

एक पटक पढ्नुहोस