काभ्रे ।सामान्य भनाभन हुँदा दुई व्यक्ति मिलेर एक मानिसको हत्या गर्नेलाई प्रहरीले १२ घण्टामा पक्राउ गरेको छ । असोज १४ गते बिहान ७:५० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १ टिमुरे चौर, घिमिरे गाउँमा एक जना व्यक्ति मृत अवस्थामा रहेको घटनाको सुचना आए पछि घटना बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । सुवेदीको अनुसार प्राप्त सूचना लगत्तै प्रहरी चौकी नालाबाट प्र. स. नि को कमाण्डमा टोली खटिई घटनास्थल सुरक्षित राखेको थियो । लगत्तै ई.प्र.का. बनेपाबाट प्र.ना.उ.को कमाण्डमा अनुसन्धान टोली घटनास्थल परिचालित भएको बताए । घटना १३ गते बेलुका राती भएको थियो ।
सुवेदीको अनुसार घटनास्थल हेर्दा सडकमा चप्पल, झोला कपडा छरिएको अवस्थामा फेला परेको र सो सडक भन्दा मुनि १०० मिटर तल भिरालो स्थानमा घोप्टो परेको नग्न टाउको तथा शरीरमा चोट लागि रगताम्य थियो । सो अवस्थामा तत्काल पहिचान खुल्न नसकेको ५५ को पुरुष व्यक्ति मृत फेला परे पछि खोज सुरु गरिएको बताए ।
घटना बारे थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय, केनाईन (K-9) महाशाखाबाट तालिम प्राप्त ट्र्याकर डग (Tracker Dog) प्र.नि. डा. चेत नारायण ज्ञवालीको कमाण्डमा खटिई घटनास्थलको अनुसन्धानमा सहयोग गरिएको सुवेदीले बताए ।
घटनास्थलको मुचुल्का तथा लासजाँच गर्दा मृतकलाई कुटपिट गरी घटनास्थलमा कर्तव्य गरेको देखिएको उनले बताए । घटना स्थलमा उपस्थित स्थानियबासी तथा मृतकको आफन्त समेतले मृतकको सनाखत गरेपछि मृतक जिल्ला सिन्धुली, मरिण गा.पा. वडा नं ५ स्थायी वतन भई हाल ज्याला मजदुरी गरी घिमिरे टोल बस्ने वर्ष ५५ को दुधलाल थिङ खुलेको थियो । घटनास्थल मुचुल्का तथा लासजाँच मुचुल्का पश्चात पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाइएको थियो । मृतकको छोरा वर्ष २७ को ग्याम्जो थिङले इलाका प्रहरी कार्यालय बनेपामा कर्तव्य ज्यान कसुरमा जाहेरी दिएकोमा थप अनुसन्धान अगाडी बढाइएकोमा १२ घण्टा पछि हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठ सहितको टोलीले हत्यामा संलग्न बारे घटनाको विस्तृत जानकारी सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छन् ।
प्रहरीले घटनास्थलको भौगोलक अवस्था, घटनस्थल वरपर CCTV Camera जस्तो प्रविधि जडान नभएको, मृतकले मोवाइल फोन समेत नबोक्ने हुँदा घटनाको अनुसन्धान गर्न मानविय प्रत्यन (Human Effort) र घटनास्थलमा भेटिएको सबुत प्रमाणहरुको सुक्ष्म विश्लेश्नको विकल्प नभएको निक्यौल गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपा समेतबाट सादा पोशाकमा प्रहरी परिचालन भई घटनास्थल वरपर निरन्तर निगरानी, घटनाको सुक्ष्म अध्ययन, गोप्य सुचना संकलनबाट घटनामा संग्लन व्यक्तिहरुको पहिचान गरी गए राति नै उनीहरू लाई पक्राउ गरिएको बताइएको छ । घटनामा व्यक्तिहरुले घटना घटाउदाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको कपडा समेत विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा बरामद भएकोले घटनाको सम्वन्धमा ईन्कार गर्ने, परिस्थिति नभई पक्राउ परेका व्यक्तिहरुले घटना घटाएको स्वीकार गरेको समेत सम्मेलनमा जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं ८ को वर्ष २१ को समिर राय र काभ्रे जिल्लाको बनेपा न.पा. १ बस्ने वर्ष २२ को ईश्वर वि.क. रहेका छन् । प्रहरीले घटनामा बरामद दशीका सामानहरुमा. मृतकलले लगाएको पाइन्ट थान-१, भेष्ट थान-१, चप्पल १ जोर, ब्याग थान-१ र ज्याकेट थान-१ २. घटना घटाउदाको अवस्थामा अभियुक्त ईश्वर वि.क. ले लगाएको रगत लागेको टिसर्ट थान-१ र रगत लागेको पाइन्ट थान-१ रहेको बताएको छ । घटनाको मुख्य कारण घटना घट्नु अघि पक्राउ परेका अभियुक्तहरु दुवैले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा निज मृतक दुधलाल थिङलाई घटनास्थलमा भेट्दा सामान्य भनाभन भएको र सोही रिसको आवेगमा कुटपिट गरी लडाई ढुंगाले पछाडी टाउकोमा हानी मरानासन्न बनाई घटनास्थलबाट भागी फरार भएकोमा पक्राउ गरी कारवाहीको लागि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको बताइएको छ ।
