काठमाडौं । रुकुम पश्चिमको सोतीमा ६ जनाको सामूहिक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।
६ जना युवकको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलले बहस गरेका थिए ।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवकको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको छ । २०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो ।
मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो । पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भइ नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको माग दाबी लिइएको छ ।
