दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले प्रशासनसमक्ष उजुरी गरेका छन् ।
चोरी भएको भनिएको हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार २७६ रुपैयाँ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेल र घरधनीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ ।
दोलखाकै मेलुुङ गाउँपालिका–६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा पनि व्यवस्थापकले एक करोड ५३ लाख हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीका अधिकारीले त्यसको छानबिन गरिरहेको जनाएका छन् ।
हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको जनाइएको छ । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले चापागाईंले हिनामिना गरेको रकम असुलउपरका निम्ति प्रक्रिया थालिएको बताए ।
दोलखाकै कालिञ्चोक गाउँपालिका–६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ । स्थानीय बचतकर्ताका अनुसार, त्यहाँ पनि २० लाख रुपैयाँभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ ।
सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढंगले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए ।