स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा नागरिकहरुले परिवर्तनको आशा र अपेक्षा गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन बहादुर कार्कीले पनि विकास निर्माणको काम गर्न आफू अहोरात्र लागि रहेको बताउछन । यसै विषयमा वडाको विकास निर्माणको लागि गरेको प्रयास र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर मिडिया दर्पण डट.कमले गरेको कुराकानी
हामीले निर्वाचनमा गरेको बाचा कार्यकाल भरिमा शतप्रतिशत पुरा गर्ने लक्ष्यमा अगाडी बढिरहेका छौँ । यस बीचमा वडाका लगभग सबै घरबस्तीलाई स्थानीय सडक सञ्जालमा जोडिएको छ, वडाका मुख्य सडकहरु बाह्रै महिना संचालन हुने अवस्थामा छन्, सबै घरधुरीमा खानेपानीको लागि एक घर एक धारा उपलब्ध गराईएको छ, प्रदेश स्तरीय मेथिनकोट अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईएको छ, अस्पतालमा मात्र सुत्केरी गराउनको लागि एम्बुलेन्स भाडामा सहुलियत प्रदान गरिएको छ, र यस्ता अन्य थुप्रै कार्यहरु गरिएका छन् ।
