After header

वडालाई समुन्नत बनाउन कुनै कसर बाँकी राख्दिन ः वडा अध्यक्ष तिमल्सिना

स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा नागरिकहरुले परिवर्तनको आशा र अपेक्षा गरेका छन् । बेथानचोक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिना वडालाई समुन्नत बनाउन कुनै कसर बाँकी नराख्ने बताउछन् । यसै विषयमा वडाको विकास निर्माणको लागि गरेको प्रयास र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर मिडिया दर्पण डट.कम न्युजको लागि गरेको कुराकानीः–

 

– अहिले के मा ब्यस्त हुनुहुन्छ ?
बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजन गरेका बजेटको कार्यान्वयन लगायत वडाबाट हुने दैनिक कार्यमा समय वितिरहेको छ ।

– वडा नम्बर १ का विकासका मुख्य पाँच प्राथमिकता के–के हुन् ?

सर्व प्रथम त वडामा बाह्रै महिना संचालन हुने दिगो सडकको अभाव छ । मेरो पहिलो प्राथमिकता नै दिगो सडक निर्माण गर्नु हो । दोस्रो वडा बासीको मुख्य पेसा नै कृषि हो । कृषहरुको समस्या समाधान गर्न सहयोग गर्दै कृषिमा थप सम्भावनाको खोजी गर्ने अभियानमा लागिरहेकोे छु । तेस्रो वडामा संचालित विद्यालयहरुलाई व्यवस्थित बनाउनुको साथै प्रविधियुक्त विद्यालय निर्माण गर्नु रहेको छ । चौथो वडा भित्र स्वास्थ्यका आधारभूत पक्षहरु वडाबासीले सहजै उपयोग गर्न सक्ने अवस्था सिर्जना गर्ने र पाँचौ वडा कार्यालयबाट प्रदान गरिने सेवा सेवाग्राही मैत्री बनाउने छु ।

– तपाईले यस बेथानचोक गाउँपालिका वडा नं. १ मा चुनाव उठिरहँदा त्यसबेला बोलेका बाचा जनताहरुको कति पुरा गर्नु भयो ?

सर्व प्रथम त हामी पाँच बर्षका लागि निर्वाचित भएर आएका हौ । त्यसैले हामीले डेढ बर्ष मै सबै काम गर्न सकिने अवस्था पनि छैन । देशको आर्थिक अवस्था, वडाको भौगोलिक अवस्थाका कारण पनि बेथानचोकका अन्य वडा भन्दा हाम्रो वडामा विकास गर्न अप्ठेरो अवस्था रहेको छ । तथापि पनि हामीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युतीकरण, कृषि, पशुपालन लगायतका क्षेत्रमा काम सुरुवात गरेका छौँ । निर्वाचनमा हामीले १२ महिना सडक सुचारु गर्छौ भनेर प्रतिवद्धता जनाएका थियौ । किने भने च्याम्राड्ढबेशीमा अहिले पनि बर्षा समयमा पहिरोका कारण यातायात सञ्चालन हुने कठिन अवस्था रहेको छ । सडकलाई नियमित सञ्चालनका लागि २४ सै घण्टा जेसीवी राखेर सडक सञ्चालनमा ल्याउन केही हदसम्म सफल पनि भयौ । सडकको दीगो विकासका लागि काम पनि भै रहेका छ । त्यस्तै चट्याङबाट बेथानचोक १ मा बर्षेपिच्छे धनजनको ठूलो क्षति हुँदै आएको थियो । त्यो हामीले निर्वाचनको प्रतिवद्धता पत्रमा निर्वाचित भएकामा यसको रोगथामका लागि काम गछौँ भनेर भनेका थियौं । त्यसको कामको सुरुवात पनि गरेका छौँ । एक घर एक खानेपानी कार्यक्रम पनि सुरु गरेका छौँ । त्यस्तै पर्यटनका क्षेत्रमा पनि प्रदेश र पािलकाको बजेटबाट काम भैई रहेको छ । तीन तले झरनालाई बिशेष प्राथमिकता दिएर कामहरु भईरहेको छ ।

– बेथानचोक गाउँपालिका वडा नं १ कस्तो बनाउनु हुन्छ ?

मेरो परिकल्पनामा अबको ३ वर्षमा बेथानचोक १ पनौती ढृर्खक च्याम्राङबेसी हुँदै प्रदेश राजधानी हेटौंडा पुग्ने सडक भएको क्षेत्रको रुपमा रहने छ । विकासका पूर्वाधारहरु निर्माण भइसकेका हुनेछन् । स्थानीयले स्वाथ्य तथा शिक्षामा विकासको महशुस गर्न पाउने छन् । वडा भित्र भएका पर्यटकीय क्षेत्रहरुको विकास भएको हुने छ । कृषकहरुको उत्पादकत्व बढने छ । उत्पादिन सामग्रीले सहजै बजार पाएको अवस्था रहनेछ । सुविधा कै खोजीमा बसाई सर्ने दर पनि न्यून भएको हुनेछ । ३ वर्ष पछिको मैले परिकल्पना गरेको बेथानचोक १ यहीँ हो ।

– वडा नं १ को शिक्षा स्थिति के छ ?

पछिल्लो समय सुधारोन्मुख नै मान्नु पर्छ । यहाँका धेरै युवाहरुले विद्यालय तह पार नगरेका भए पनि पछिल्लो समय न्यूनतम् कक्षा १२ सम्म अध्ययन गर्ने बढेका छन् । शहर गएर उच्च शिक्षा हासिल गर्नेहरु पनि त्यतिकै छन् । सबै क्षेत्रमा विद्यालयको पहँुच पुगेको छ । प्राविधिक विषयहरुमा विशेषज्ञता हासिल गर्ने न्यून रहे पनि मुलधारको शिक्षा हासिल गर्नेहरुको संख्या राम्रो छ । यद्यपी विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव छ । मा.वि तहका विद्यालयमा विषयतग दरबन्दीको समस्या भने छ । यो किसिमका समस्याहरुको हल गर्दै विद्यार्थीको चाहाना अनुसारको शिक्षा प्रदान गर्दै जाने हामीले लक्ष्य लिएका छौं ।

– वडा नं १ मा स्वास्थ्य र खानेपानीको स्थिति के छ ?

वडा मा १ स्वास्थ्य चौकी र १ प्राथमिक स्वाथ्य केन्द्र रहेका छन् । त्यसै गरी वर्थिङ सेन्टर पनि संचालनमा छ । प्राथमिक अवस्थाको स्वास्थ्य सेवा पाउन खासै कठिन छैन । तर पनि भूगोलको कारण पुर्णरुपमा सहज भन्न पनि सकिँदैन । खानेपानीको सन्दर्भमा वडामा खानेपानीको मुहान अभाव भने छैन । हाल वितरित खानेपानी मापदण्ड अनुसार स्वच्छ छ भन्ने पनि होइन । वडाका लागि २ ठूला खानेपानी योजना संचालन भएका थिए । त्यसले दिगो विकासको जग बसालेको भएपनि पुर्ण हुन सकेको छैन । नेपाल सरकारको नीति बेथानचोक गाउँपालिकाको कार्यक्रम तथा वडाको लक्ष्य अनुरुप हामी एक घर एक धाराको अवधारण अनुरुप सबै घरमा पिउन योग्य स्वच्छ खानेपानी पुर्याउँछौ ।

– वडामा ल्याउने नयाँ योजना केही सोच्नु भएको छ ?

बेथानचोक गाउँपालिकाका वडाहरु मध्ये तुलनात्मक रुपमा यो वडा पछाडी नै छ । यस पटक बेथानचोक गाउँपालिकाले नै नागरिकका सेवा सुविधा प्रदान देखिका विषयमा पछाडि परेकालाई प्रथमिकतामा राख्ने नीति लिएको छ । जसले गर्दा वडाबासीले प्राप्त गर्ने सेवा सुविधा होस या विकास कार्य सबै विषयमा हामी प्रथमिकतामा पर्ने हाम्रो विश्वास छ । महाभारतको काखमा रहेको वडा भूगोलका कारण सडक सुविधा उपयोगमा कठिनाई छ । तर प्रदेश राजधानी हेटौंडा सम्म पुग्ने सडक यहीँबाट निर्माण हुँदा छोटो पर्छ । यी सबै विषयलाई ख्याल गर्दै सुरुङमार्गको सम्भाव्यता अध्ययन पालिकाले काठमाडौं विश्वविद्यालय सँग मिलेर अगाडि बढाएको छ । जसले गर्दा हामी सडक सुविधा उपयोग गर्न सक्छौ भन्ने अपेक्षा छ । त्यस बाहेक शिक्षा स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रको विकासका लागि योजना सहित लागि पर्नेछु ।

– अघिल्लो जनप्रतिनिधिले भन्दा फरक के गर्ने सोचमा हुनुहुन्छ ?

संघीयता कार्यान्वयन पछिको पहिलो जनप्रतिनिधिहरु जसले वडालाई यो अवस्था सम्म ल्याइपुर्याउन धेरै मेहनत गर्नु भएको छ । उहाँहरु प्रति म सम्मान व्यक्त गदर्छु । मेरा आगामी दिनका कार्य संचालन गर्नका लागि पनि उहाँहरु सल्लाहकारका रुपमा रहनुभएको छ । कार्यलय संचालन देखि विकासको गति तिब्र बनाउनका लागि सम्भावना स्रोतको खोजीमा विशेष ध्यान दिनेछु ।

– अन्त्यमा छुटेका जनताको कुरा केही छन् ?

स्थान दिनुभयो धन्यवाद ! राजनीतिक रुपमा सार्वजानिक पदधारण गरेको पहिलो अनुभव हो । मैले यस अघि देखे जानेका भोगेका कार्यहरुलाई कार्यक्षेत्रमा प्रयोग गर्नेछु । पूर्वजनप्रतिनिधिहरु, अग्रजहरुको साथ अपेक्षा गरेको छु । वडालाई समुन्नत बनाउने कार्यमा कुनै कसर बाँकी राख्ने छैन । सुशासन, जवाफदेहीता तथा पारदर्शितालाई प्राथमिकतामा राख्नेछु भन्न चाहन्छु ।

एक पटक पढ्नुहोस