After header

राष्ट्रपति पौडेल र कतारका राजा बिच भेटवार्ता सम्पन्न

काठमाडौं । दुईदिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौ आईपुगेको कतारका राजा र राष्ट्रपति पौडेल बिच भेटवार्ता सकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको राष्ट्रपति निवास शीतल निवासमा दुई पक्षबीच भेटवार्ता भएको थियो ।

भेटवार्तामा कतारका अमिरले नेपालका लागि गर्न सकिने थप सहयोगमा चासो राखेका थिए । राष्ट्रपति पौडेलले भने मध्यपूर्वको द्वन्द्वबारे चिन्ता रहेको बताएका छन् ।राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको बताए । पौडेलले त्यस क्षेत्रमा युद्धको अन्त्य र शान्ति पुनर्स्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौता सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सुखद् वातावरण तयार हुने बताए ।उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

भेटवार्तामा जलवायु परिवर्तन, हिमाल, पानीको स्रोत र वातावरण सन्तुलनजस्ता विषयमा पनि छलफल भएको छ । ‘विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तन भएको छ । यसमा सबैको सहकार्य हुन जरुरी छ । विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।

एक पटक पढ्नुहोस