After header

इलाम–२ र बझाङ १ (१) मा उपनिर्वाचनको लागि मतदान सुरु

काठमाडौं । इलाम २ र बझाङ १ (१) मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । इलामका उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए ।’बिहान ७ बजेदेखि नै मतदान सुरु भएको म्यासेज आइरहेको छ’, उनले भने, ’अहिलेसम्म सहज वातावरण छ ।’ इलाम–२ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

त्यसैगरी उपनिर्वाचन अन्तर्गत बझाङ–१(१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।्

एक पटक पढ्नुहोस