काठमाडौं । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आपत्ति जनाएकका छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ ।
‘उहाँले पारित बजेटको सिलिङभन्दा माथि बजेट ल्याउनुभएको छ, पारित बजेटका कार्यक्रम नै फेरबदल गर्नुभयो, एमालेका कार्यक्रम थप गर्नुभएको छ,’ मुख्यमन्त्री जमरकट्टेललाई उदृत गर्दै एक जानकार स्रोतले भन्योे, ‘प्रदेश सरकारले यो बजेटको स्वामित्व लिनसक्ने अवस्था छैन ।
प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् ।तर बागमती प्रदेशमा प्रदेश नीति तथा योजना आयोगले सिलिङ तोक्ने र त्यसअनुसार बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था नरहेको आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले बताए ।
‘यहाँ मुख्यमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष लगायत बसेर स्रोत अनुमानका आधारमा बजेटको आकार निर्धारण गर्ने चलन छ’, थापाले भने ‘यसपटक अर्थतन्त्रमा समस्या रहेका कारण चालु आवकै हाराहारी बजेट ल्याउने निर्णय भएको थियो । तर अर्थमन्त्रीले बढाएर ल्याउनुभएछ ।’ बजेट यथार्थपरक भएन भन्ने आफ्नो पनि बुझाइ रहेको थापाले बताए ।
प्रत्यक्ष निर्वाचित प्रदेश सांसद्को सिफारिसमा कार्यान्वयन हुने परियोजनामा प्रतिनिर्वाचन क्षेत्र ३ करोड र समानुपातिकका लागि १ करोड दिने सहमति भएकोमा अर्थमन्त्रीले त्यो पनि हटाइदिइएको उनको आरोप छ । ‘बजेट प्रस्तुत गर्नुअघि प्रणाली खोलेर खासगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाको योजना व्यापक रुपमा काटिएको छ,’ मुख्यमन्त्री जमरकट्टेललाई उदृत गर्दै स्रोतले भन्यो ।
अर्थमन्त्री थपलियाले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट शनिबार बागमतीको प्रदेश सभामा पेश गरेका थिए । यो चालु आवको बजेटको तुलनामा १ अर्ब ६३ अर्बले बढी हो । ‘गत वर्षको बजेटमा केही थपेर बजेट बढाएको हो, सिलिङअनुसार नै त्यो गरेको हो,’ उनले दाबी गरे ।