काभ्रे । धुलिखेल नगरपालिकाको १५ औं नगर सभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक बर्षका लागि धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजार रकम विनियोजन गरेको छ । धुलिखेल नगरपालिका नगर सभाको १५ औं नगर सभामा नगर प्रमुख अशोक ब्याञ्जुले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।
धुलिखेल नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा कम्तीमा एक वडा एक डिजिटल विद्यालय विकास गरिने, परियोजना र प्रयोगात्मक मुल्यांकनका लागि एक विद्यालय एक सार्वजनिक स्थल संरक्षण कार्यक्रम सन्चालन गरिने उल्लेख छ । यस्तै चालु आर्थिक बर्षमा धुलिखेल नगरपालिकामा ७ हजार ३ सय ४२ घरधुरीमा ब्यवस्थित खानेपानी सुविधा पुगेको नगर प्रमुख ब्याञ्जुले बताए ।

१०५ जना सुचिकृत बेरोजगारहरुलाइ ५५४९ दिनको रोजगारी प्रदान गरिएको स्थिति समिक्षामा उल्लेख छ । धुलिखेल नगरपालिकाको लम्पी राहत कार्यक्रम अन्तर्गत मृत्यु भएका ३०१ मध्ये विमा गरेका पशु बाहेक २४३ वटालाइ १० हजारका दरले २४ लाख ३० हजार रुपैयाँ किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
धुलिखेलमा वडा स्तरीय योजना प्रगतिलाई हेर्दा वडा नम्बर २ मा सबैभन्दा बढी ९४.९४ प्रतिशत र सबैभन्दा कम वडा नम्बर ६ मा ४३.२४ प्रतिशत मात्रै प्रगती भएको उप– प्रमुख निराजन जंगमले बताए । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले १५ औं नगर सभाको बारेमा जानकारी गराउदै नगर सभा सदस्यलाइ स्वागत गरेका थिए । सभामा विभिन्न विधेयक प्रस्तुत गरिएको छ ।
