काठमाडौं । संसदमा जथाभावी नबोल्न प्रधानमन्त्री केपी ओलीको चेतावनी दिएका छन् । ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाएका हुुन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरेका हुन् ।
त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको दाबी गरेका थिए । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै उनले भनेका थिए, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने‘।’ दाहाल बोल्दाबोल्दै समय सकियो ।
शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरे ।
डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको ओलीले बताए ।
‘विवाद टुंग्याउनुपर्छ, सरकारले पाउनुपर्ने रकम असुल गर्नुपर्छ’ उनले भने, ‘जुन विद्युत उपभोग गरेका छन्, त्यसको तिर्नुपर्छ । जुन प्रयोग गरेका छैनन्, त्यो तिर्न पर्दैन । मैले भनेको त्यो हो ।’यो आजको नभई ९÷१० वर्ष अगाडिदेखिकै विवाद भएको र बेलाबेला लाइन काट्ने र जोडिने भइरहेको भन्दै उनले भने, ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन, बेठिक खालका सेटिङ र विभिन्न खालका तन्त्रका पछाडि कुद्नु पनि छैन ।’
६० वर्ष लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको र बाँकी जीवन पनि त्यसलाई कायम राख्ने उनले बताए ।