After header

काभ्रेको पनौतीमा निर्माणधीन प्रहरी प्रशिक्षणको गृहमन्त्री लेखकद्वारा निरीक्षण

काभ्रे । काभ्रेको पनौतीमा निर्माणधीन प्रहरी प्रशिक्षणको माननीय गृहमन्त्री लेखकद्वारा आज एक कार्यक्रमको बिच निरीक्षण गरेका छन् । पनौती नगरपालिका वडा नं. ६ मा निर्माणधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको गृहमन्त्री लेखकसहित विशिष्ट ब्यक्तित्वहरुले निर्माण कहाँ र के कस्ता समस्या रहेका बारेमा जानकारी लिएका थिए ।

भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको भौतिक संरचना निर्माणको अवस्था अनुगमन गरी प्रगतिबारे जानकारी लिएका थिए । यस्तै लेखकलाई भारतीय निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माणको प्राविधिक पक्षबारे जानकारी गराएका थिए । लेखकले आयोजनाको अनुगमनका क्रममा गुणस्तरीय तरिकाले निर्धारित समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरेका छन् ।

गृहमन्त्री लेखकले निर्माणाधीन प्रतिष्ठानको निर्माणका क्रममा केही समस्या आए तत्काल आफुलाई जानकारी गराउनसमेत आग्रह गरेका छन् । प्रतिष्ठानको निर्माणकार्य समयमै सक्नुहोला, यसबीचमा केही समस्या आए तत्काल मलाई भन्नुस् समाधान गरिहाल्छौँ”, उनले भने । भारतको सहयोगमा उक्त प्रतिष्ठान निर्माण भएकामा लेखकले राजदूतमार्फत भारतीय सरकारसँग खुसी ब्यक्त गरेका छन् ।

गृहमन्त्री लेखकलाई रु १० अर्ब ५२ करोडको लागतमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराएका थिए । अनुगमनका क्रममा राजदूत श्रीबास्तवले निर्माणको काम समयमै सक्नेगरी जनशक्ति परिचालन गरिएको जानकारी गराए । हाल दैनिक आठ सय जनशक्ति परिचालन गरिएकोमा निर्माणकार्य समयमा सक्न थप जनशक्ति थप्ने तयारी गरिएको उनले जानकारी गराएका छन् । करिब ८० प्रतिशत भौतिक निर्माणको काम सकिएको उनको भनाई थियो ।

अनुगमनमा पूर्व सांसद एवं नेपाली कांगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, बाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, पनौतीका नगरप्रमुख रामशरण भण्डारी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी)का निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, बाग्मती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रज्जवल महर्जनलगायतको सहभागिता थियो ।

विसं २०७९ असारमा निर्माण सुरु भएको आयोजना भारतीय निर्माण कम्पनीसँग आगामी २०८२ असारमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । करिव आठ सय ६० रोपनी क्षेत्रफलमा निर्माणाधीन प्रतिष्ठानमा प्रशासनिक भवन, शैक्षिक भवन, खेलकूद भवन तथा मैदान, स्वीमिङ पुल, अडिटोरियम हल, हेलिप्याडलगायतका एक सय छ वटा भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

एक पटक पढ्नुहोस