काभ्रे । पनौती नगरपालिका भित्र ल्याएको भैसी सुत्केरी भत्ताले किसानलाई खुसी छाएको छ । किसानहरुले भन्छन नगरको यस्ता योजनाले अहिले सम्म हामी टिकेका र बाचेका छौं । विसं २०७७ सालमा भैंसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैंसी टुटेको छैन ।
चार बर्षदेखि लैनो भैंसीको दुध बेचेर घरब्यबहार खर्च टार्दै आएको थापाले आफ्नो दिनचर्या सुनाए । पनौती नगरले अनुदानमा दिएका पाडी ठूलोभई व्याएपछि नगरको ठूलो सम्झिरहेको गुन लगाएको सुनाउछन् । उक्त पाडी ब्याएपछि नगरले रु पाँच हजार ‘सुत्केरी भैंसी भत्ता’ पनि दिएको थियो ।
भैंसीबाट पहिलो बेतमा रु १ लाख ८० हजारको दूध विक्री गरे, त्यसपछि पनि अनुदानमै पाडी थप्दै घरमा लैनो भैंसी टुटाएको छैन, उही हाराहारिमा आम्दानी भइरहेको थापाले बताए । पहिलो पटक सुत्केरी भएको भैसीलाई नगरले सुत्केरी भत्ता दियो, पाडी किन्दा लगानी गरेको रकम सुत्केरी भत्तासँगै फिर्ता भयो । नियमित विक्री गरेको दुधबाट परिवार पनि चल्यो ।
यस्तै बर्षौँदेखि गाई पाल्दै आएकी पनौती–३ को विमला सापकोटाले तीन बर्षअघि गोठमा एउटा भैंसी थपेको सुनाईन् । नगरले ल्याएको अनुदानपछि भैंसी थपेर दुध विक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएको सुनाईन । “गाई र भैंसीको दुध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान वीमा र सुत्केरी प्रोत्सहानका कारण भैंसीपालनप्रति आकर्षण बढ्यो” सापकोटाले भनिन् ।
पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैंसी पालनमा ल्याएको अनुदान, वीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यवसायिक भैंसीपालनमा लागेको बताए । विभिन्न समस्या र दूधको मुल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी मासुको मुल्यमा बेचेर छोडेको थिए, अहिले पुनः भैंसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैंसी छन् उनले भने ।
पनौती नगरको ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको स्थानीय बताउँछन् । भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैसीको वीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहात मिलेको किसानहरुले बताए ।
नगर उपप्रमुख गिता बञ्जारा नगरले उपलब्ध गराएको एउटा पाडीले अहिले कृषकका गोठ भरिन थालेको र कृषक खुसी देखिएको सुनाउछिन् । “गरिव तथा एउटा भैसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको उनको भनाई थियो । पहिलो र दोस्रो बेतका दुधालु भेंसीको अहिले रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म पर्छन् ।
तर, दुई बर्षदेखि नगरले उक्त कार्यक्रमलाई निरन्तरता नदिएको प्रति भने स्थानीय दुःखी नै देखिन्छन् । करिब चार बर्ष नगरले १२ वटै वडामा ९ सय १८ पाडी वितरण ग¥यो । यसमध्ये हालसम्म करिब सात सय ११ भैंसी ब्याइसकेको नगरको कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ । वडा नम्वर १ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरु धमाधम सुत्केरी भएका छन् । त्यसबाट स्थानीयले निरन्तर आम्दानी लिन थालेका छन् ।
नगरले आर्थिक वर्ष २०७४÷०७५ बाटै ‘भैंसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैंसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेलगत्तै सुरु गरिएको सुत्केरी भैंसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो ।
अभियान सञ्चालनताका पनौतीमा उत्पादित दुधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुनेगरेको नगरको तथ्याङ्कले देखाएको छ । त्यस आर्थिक वर्षको तथ्याङक अनुसार पनौती नगरमा ४ हजार सात ४७ वटा भैंसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब ५ सय भंैसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब ६ करोड रुपैयाँ भैंसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो ।
कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैसीलाई रु ५ का दरले सुत्केरी भत्ता दिएको शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए । करिव एक हजार पाँच सय भैंसी–भत्ता किसानलाई बितरण गरिएको थियो । शाखाका अनुसार हाल करिव आठ हजार भैसी पनौतीमा छन् ।
हाल दुधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौ विक्रीका लागि पठाइन्छ ।