After header

मधेसका प्रदेशका मुख्यमन्त्री सिंहको १०० दिनमा पत्रकार सम्मेलन

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो कार्यकालको १०० दिन पूरा गरेका अवसरमा पत्रकार सम्मेलन गरि एकसय दिनको कामकाजका बारेमा जानकारी गराएका छन् । उनका अनुसार यो अवधिमा प्रदेशसभाबाट चार वटा विधेयकहरू पारित भएको छ ।

प्रदेशसभाबाट सालवासी विधेयकबाहेक प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा बनेका विधेयक र प्रदेश यातायात तथा सवारी व्यवस्थापन विधेयक गरी चार वटा विधेयक पारित भएका हुन् ।

यस्तै केही अत्यावश्यक र महत्त्वपूर्ण विधेयकहरू प्रदेशसभाका विभिन्न विषयगत समितिमा छलफलमा रहेका र केही विधेयकको मस्यौदा तयार भई प्रदेशसभामा पठाउने प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री सिंहको भनाइ छ ।सिंहले प्रदेश लोकसेवा आयोगमा रिक्त अध्यक्ष र एक सदस्य नियुक्त गरी आयोगलाई पूर्णता दिएको जानकारी गराएका छन् ।

प्रदेश नीति तथा योजना आयोगमा क्षमता र सक्षमताका आधारमा व्यावसायिक व्यक्तिहरूलाई नियुक्त गरिएको र लामो समयदेखि थाँती रहेको बढुवा नियुक्ति, कर्मचारीको रुचि, योग्यता, दक्षता अनुभव र तालिमलाई प्राथमिकतामा मनोबल अभिवृद्धि गर्ने किसिमले सरुवा व्यवस्थापन भइरहेको मुख्यमन्त्री सिंहले सुनाए ।

आफू मुख्यमन्त्री भएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि निर्णय भएको र त्यसलगत्तै चिकित्सासेवा आयोगले यस वर्षबाटै प्रारम्भ हुनेगरी प्रतिष्ठानलाई एमबिबिएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति दिएको सिंहले जानकारी दिए ।

यस्तै गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकारले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पतालमा तीन सय बेड थप्ने निर्णय गरेको र त्यसका लागि स्रोतसमेत सुनिश्चित गरिएको छ । यस्तै शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न धनुषा र सिराहामा शैक्षिक पार्क बनाउने प्रक्रिया अघि बढाइएको समेत मुख्यमन्त्री सिंहले जानकारी दिए ।

पशुबिमा, निर्वाचन क्षेत्रलक्षित कृषि विद्युतीकरण कार्यक्रम, कृषि उत्कृष्टता केन्द्र, हरेक पालिका एक एग्रोभेट कार्यक्रम, प्रारम्भिक मल वितरण कार्यक्रम र मन्डीसँगै १६ ठाउँमा शीतभण्डार, भेटेनरी एम्बुलेन्स, भेटेनरी अस्पताल लगायतका महत्त्वपूर्ण योजना अघि बढाइएको पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री सिंहले जानकारी दिए ।

‘महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारबाट फर्केका नागरिकलाई स्वरोजगार कार्यक्रम, स्टार्टअप अनुदान, लघुउद्यम प्रवर्द्धन कार्यक्रम, मधेस वैदेशिक रोजगारी उद्धार केन्द्र स्थापना, आप्रवासनसम्बन्धी डिजिटल प्रोफाइलिङ, मुख्यमन्त्री रोजगार कार्यक्रम, तालिमसहितको स्वरोजगार कार्यक्रमका लागि अवधारणा पत्र बनाई कार्यविधि तर्जुमा गरिएको छ,’ उनले भने ।

मुख्यमन्त्री सिंहले एसियाली विकास बैंकको ऋण सहायतामा सिँचाइ आधुनिकीकरण प्रवर्द्धन आयोजनाअन्तर्गत विभिन्न उपआयोजनाहरूका लागि दुई अर्ब १९ करोड रकम बराबरको बोलपत्र आह्वान भएको जानकारी दिए ।उनले बोलपत्र आह्वान गरिएका १५ वटा उपआयोजनाबाट मधेस प्रदेशको पाँच हजार सात सय ९८ हेक्टर भूभागमा थप सिँचाइ सुविधा पुग्ने पनि उल्लेख गरे ।

स्थानीय तहबाट मधेस प्रदेश सरकार मातहत हस्तान्तरण भई आएका चार वटा अस्पतालहरू सर्लाहीको धनकौल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया अहिले सञ्चालन हुने अन्तिम तयारीमा रहेको पनि मुख्यमन्त्री सिंहले बताए ।

मुख्यमन्त्री सिंहले सशर्त अनुदान वितरणमा देखिएका बेथिति नियन्त्रण गर्न सरकारले प्रत्येक महानगरपालिकालाई रु १ करोड ७५ लाख, प्रत्येक उपमहानगरपालिकालाई रु १ करोड २५ लाख, प्रत्येक नगरपालिकालाई रु ९५ लाख र प्रत्येक गाउँपालिकालाई रु ८० लाखका दरले सशर्त अनुदान समयमै प्रदान गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकको सहयोगमा धनुषाको हंसपुर नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिकालाई पक्की सडक सञ्जालसँग जोड्न २५ किलोमिटर प्रादेशिक कालोपत्रे सडकका लागि बोलपत्र आह्वान भएको पनि मुख्यमन्त्री सिंहले बताए ।

एक पटक पढ्नुहोस