राजविराज । छठ नजिकिदै गर्दा पोखरी, ताल र नदी किनार सजानेक्रम बढेको छ । सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आज सोमबारदेखि सजाउन थालिएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।
विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व सुरु भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् । सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेका छन् ।
यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र असोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको छ । ग्रामीण क्षेत्रका जलाशयहरुमासमेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ ।छठ सुरु भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुञ्जिन थालेका छन् ।
छठमा प्रयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ ।