कैलाली । पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले सात वर्षसम्ममा पनि पुल निर्माण सम्मन्न नगर्दा यतिबेला स्थानियले दुःख भोगिरहेको छन् । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै रहेको छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन ।
निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । रु १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबीच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले बताए ।
खुटिया र शिवगंङ्गा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो । उनले भने, “खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो तर शिवगङ्गामा काम भएको छैन ।”सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् रु तीन करोड १३ लाख ७२ हजार भुक्तानी लिएको छ ।
ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो । सडक डिभिजन कार्यालयले पटक–पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ ।