काभ्रे । गत असोजको बाढीपहिरोका कारण यस बर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा गिरावट भएको छ । अघिल्ला बर्षहरुमा दुई प्रतिशतले गिरावट हुँदै आएको सुन्तला उत्पादन यसबर्षको बाढीपहिरोका कारण बगैंचामा क्षति पु¥याउँदा छ दशमलव ७० प्रतिशतले गिरावट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यस बर्ष सात हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएपनि बाढीपहिरोका कारण बगैंचामा क्षति पु¥याउँदा पाँच सय मेट्रिकटन गिरावट भएको हो ।
जिल्लाको कुल क्षेत्रफलमध्ये करिब १३ सय हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला लगाइएको छ । कार्यालयप्रमुख कुलप्रसाद दवाडीले बार्षिक करिब ७ हजार मेट्रिक टन सुन्तला उत्पादन हुदै आएतापनि यसबर्ष सात हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको बताए ।
यसबर्ष विभिन्न स्थानमा सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रमले सुन्तला राम्रो फल्नेमा विश्वास गरिएको दवाडीले बताए । अघिल्ला बर्षमा भने रोग–किराका कारण लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतका हाराहारीमा गिरावट हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार केही बर्षअघिसम्म काभ्रेपलाञ्चोकमा बार्षिक रु ४० करोडभन्दा बढी सुन्तला विक्रीबाट भित्रने गर्दथ्यो ।
तुलनात्मक रुपमा यस आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सुन्तला राम्रो फलेको किसानबाट प्रतिक्रिया पाएपनि बाढीपहिराका बगैंचामा क्षति पु¥याउँदा यसबर्ष पनि गिरावट भएको हो”, दवाडीले भने । उनका अनुसार कतिपय स्थानमा सुन्तला बगौंचा नै बगाएको छ । सुन्तला उत्पादनका लागि जिल्लाको पनौती नगरपालिका, धुलिखेल नगर, नमोबुद्ध नगर, बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रको मानिने गरिन्छ ।
बाढीपहिरोले पकेट क्षेत्रअन्तर्गत नमोबुद्ध, बेथानचोक, सुन्थान तथा कुशादेवी क्षेत्रमा सुन्तलाको बगैंचा बगाएको कार्यालयले जनाएको छ । “क्षतिको बिवरण आउने क्रममै छ” ढवाडीले भने । बेथानचोक–४ सञ्जेल गाउँका शंकर सञ्जेलको एक सय ५० सुन्तलाको बोटमध्ये एक सय बोट बाढीले बगायो । यसबर्ष राम्रो आम्दानी हुने आशामा बस्नुभएका सन्जेलको बाढीपहिरोले ठूलो क्षति पु¥याउँदा निकै नोक्सानी ब्यहार्नुप¥यो ।
सोही गाउँपालिका–४ हाडडोलको कान्छी कोइरालाले २५ रोपनीमा लगाएको ३ सय बोट सुन्तलामध्ये ४ रोपनीका करिब चार दर्जन बगाएको थियो । यस्तै सोही वडाका कृष्णबहादुर लामाको एक सय १२ बोटमध्ये २८ सुन्तलाका रुख यसपाली पहिरोले बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार बाढीपहिरोबाट पालिकाभर १ सय १४ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटमा क्षति पुगेको जनाएको छ ।
त्यस्तै नमोबुद्ध–९ स्थित डाँडागाउँमा प्रेम लामाको ५ रोपनीमा लगाएको १ सय ३५ बोट सुन्तलामध्ये पहिरोले १७ वटा सुन्तलाका रुख बगायो । नमोबुद्धको १, २, ८,९, १० र ११ नं वडास्थित करिब १३ हेक्टरमा गरिएको सुन्तला खेतीमध्ये बाढीपहिरोले ६ हेक्टर क्षेत्रफलको सुन्तलामा क्षति भएको नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
गत बर्षको चैतदेखि जिल्लामा सुन्तला जोगाउन किसान जागरण अधियान तथा सुन्तला सुधार कार्यक्रमले जिल्लामा सुन्तला उत्पादन बढाइने लक्ष्य लिइएको थियो । सुन्तला प्रवद्र्धन कार्यक्रमअन्र्तगत बगैंचाका बोट सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउनेजस्ता समस्या किसानले भोग्नु नपरोस्, सुन्तलाजात फलफूलको स्वस्थ बगैंचावाट राम्रो उत्पादन दिंदै आइरहेकोमा केही वर्षपछि उत्पादन घट्ने र बगैंचा अनुत्पादित भएर बोट मर्नसक्ने भएकाले किसानलाई समयमै जानकारी गराउन विभिन्न स्थानमा तालिमको आयोजना गरिएको दवाडीले बताए ।
दवाडीका अनुसार जागरण अभियानमा बगैंचा स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो ब्यवस्थापन गरे किसानले सुन्तला खेतिबाट राम्रो लाभ लिनसक्ने भएकाले सुन्तलाजात फलफूल बगैंचामा देखापर्ने यस प्रकारको समस्याका कारण यस क्षेत्रमा किसान सचेतिकरण र उपचार गर्न जागरण कार्यक्रम अघि सारिएको थियो । सुन्तालको फल झर्ने समस्या न्यूनीकरणका लागि किसानलाई किटनाशक औषधी र बिरुवाका लागि प्रोटिन–ब्रेटसमेत बितरण गरिएको थियो ।
यस्तै कार्यालयले पछिल्ला बर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैंचामा स्थलगत अनुगमनका क्रममा ‘सुक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएपछि जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचामा पुर्नजागृत गराउन विभिन्न स्थानका पुरानो बगैँचामा सुन्तलाको बोटमा उपचार गरेको थियो ।
पुराना बोट भएपनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार गरिएको दवाडीले बताए । कार्यालयका अनुसार सुन्तला बोटको उपचारअघि जिल्लाभर करिव २० प्रतिशतमा औँसा किराको प्रकोप देखिएको थियो । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ । आजको काभ्रे सन्देश साप्ताहिकबाट
