After header

काभ्रेको क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना मर्मत गर्न २८ करोड लाग्ने

काभ्रे । गत असोज दोस्रोसाताको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि नेपाल सरकारसँग रु २८ करोड ६५ लाख ३१ हजार ६ सय ४८ माग्ने निर्णय गरिएको छ ।

जिल्लास्थित तीन नगर धुलिखेल, बनेपा र पनौतीका प्रमुखहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुखहरु धुलिखेलका अशोक ब्याञ्जू, बनेपाका शान्तिरत्न शाक्य र पनौतीका रामशरण भण्डारीबीच भएको बैठकले शहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्याङ्कनअनुसार नेपाल सरकार खानेपानी मन्त्रालयमा बजेट ब्यवस्थापन तथा सोको तत्कालै कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

केही दिनमै सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइएको आयोजनाका बोर्डका संयोजकसमेत रहेका ब्याञ्जूले बताए । उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी सङ्कलनका इन्टेक तथा बितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पु¥याएको थियो ।

निर्माणको अन्तिम चरणमै क्षतिग्रस्त हुन पुगेको उक्त खानेपानी आयोजनाको पुनर्निर्माणमा एशियाली विकास बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले बताए । तीन नगरका करिव ९३ हजार उपभोक्ताका लागि करिव रु एक अर्बको लगानी रहेको उक्त खानेपानी आयोजनाको निर्माण ढिलाई भइहेपनि यसअघि ९८ प्रतिशत काम सकिएको जनाइएको थियो ।

नेपाल सरकार र एशियाली विकास बैङ्क(एडिबी)बीचसन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमासक्ने गरी ऋण सम्झौता गरिएको गरिएको उक्त आयोजना समय सकिएको दश बर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । आयोजना सम्पन्न भएपछि तीन नगरका करिव ९३ हजारले खानेपानी सुविधा पाउनेछन् ।

यसैबीच धुलिखेल नगरमा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख यूरो सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआईजेड)मार्फत नेपालस्थित दूताबासले रु एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगर प्रमुख ब्याञ्जू र जिआईजेडका तर्फबाट तिर्थ सिन्हाले गत पुस अन्तिमसाता सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

ब्याञ्जूका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ को उपभाक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरु तीन महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका थिए ।आजको काभ्रे सन्देश साप्ताहिकबाट

एक पटक पढ्नुहोस