नेपाल आठौं स्थानमा

नेपाल, एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको आठौं स्थानमा सीमित भएको छ । जिम्बावेमा सातौं स्थानको प्ले अफमा आज नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपालले प्रतियोगिता आठौं स्थानमा रहँदै सकेको हो । यद्यपि, दुई दशक लामो क्रिकेटको इतिहासमा सोही प्रतियोगिताबाट नेपालले वान डे क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भएको छ ।

नेदरल्याण्डस्ले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ रनमा सीमित भयो । चौंथो ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल चार रनमा आउट भएपछि सुरु भएको नेपालको विकेट पतनको क्रम ललित राजवंशीसम्म रोकिएन । सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरी २५, क्याप्टेन पारस खड्का २२, करण केसी १३, अनिल साह ८, आरिफ शेख ५ र ललित राजवंशी २ रनमा आउट हुँदा रोहितकुमार पौडेल र शक्ति गौचनले खातै खोल्न पाएनन् । सन्दीप लामिछाने १४ रनमा नटआउट रहे । भान डर मेर्वेले ४ विकेट लिँदा पिटर सिलार र फ्रेड क्लासेनको नाममा २–२ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको हो । सुरुवाती इनिङ्स ध्वस्त पार्दै सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ तथा शक्ति गौचनले एक विकेट लिए । आफ्नो स्पेलमा सोमपालले २ ओभर मेडन फ्याल्दै २१ रन खर्चिए । योसँगै लिष्ट ए मान्यता प्राप्त क्रिकेटमा ५० विकेट लिने सोमपाल पहिलो नेपाली खेलाडी भएका छन् । सन्दीपले ४१ रन दिदाँ ललितले ३८ रन दिए । विकेट लिन नसकेपनि समान ६ ओभर बलिङ गरेका पारस खड्काले १२ र करण केसीले २८ रन दिए । जिम्बावे भ्रमणको अन्तिम खेलमा मैदान उत्रिएका शक्ति गौचनले ८ ओभरमा ३६ रन खर्चेर एक विकेट लिए ।

अघिल्ला क्रमका व्याट्सम्यान चल्न नसकेपनि मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गरेपछि नेदरल्याड्स सम्मानजनक योगफल तयार पार्न सफल भयो । ४८ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै बास डी लिडले ३९ र म्याक्स ओ–डाउडले २८ रन बनाए । सोमपालले अघिल्ला दुई ओभरमा लगातार २ विकेट लिएपछि नेदरल्याड्स एक समय ६ रन जोड्दा २ विकेटको स्थितिमा थियो । यस्तै पपुवा न्युगिनी नवौं र हङकङले दशौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन् । नवौं स्थानको प्लेअफमा पीएनजीले हङकङलाई ५८ रनले पराजित गरेको हो ।

एक पटक पढ्नुहोस