After header

काभ्रेको पनौती फुल्चोकी–प्याराग्लाईडिङ ः सुरुलगत्तै बन्द, पुनः सञ्चालनको तयारी

काभ्रे । पर्यटकीय क्षेत्र फुल्चोकीमा ब्यवसायिक रुपमा सञ्चालित प्याराग्लाइडिङ दुई बर्षदेखि बन्द अवस्थामा रहेको छ । काभ्रेको पनौती नगरस्थित फुल्चोकी–कुशादेवी क्षेत्रमा उडान अनुमति पाई उडान सुरु गरेएको करिब चार महिनामै बन्द भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले उक्त क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई २०७९ पुस दोस्रो साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो ।

चार महिना जसोतसो प्याराग्लाइडिङ सञ्चालन गरेपनि उडानप्रति आकर्षण नहुँदा बन्द नै गर्नुपर्ने अवस्था आएको प्रालिले जनाएको छ । उसका अनुसार उडान गर्न ‘टेकअप’ का लागि हावाको प्रेसर नमिलेकाले त्यसबेला केही उडान रोक्नुपरेको थियो । तत्कालीन मन्त्री सुदन किराँतीले प्याराग्लाइडिङको उद्घाटन गुरेका थिए ।

पटक पटकका परीक्षणपछि उक्त प्रालिलाई प्राधिकरणले उडान अनुमति दिएको थियो । प्राधिकरणबाट उक्त मनोरञ्जनात्मक साहसिक खेल प्याराग्लाइडिङ सञ्चालन निर्देशन भएपछि कम्पनीले व्यवसायिक उडान सुरु गरेको थियो । सम्पूर्ण तयारीपछि उडान सुरु गरिएपनि करिव चार महिनापछि प्याराग्लाइडिङ बन्द गर्नुपर्ने अवस्थामा आइएको प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताए ।

उनले सोचेजस्तो सहयोग, ब्यापार र ब्यवसाय प्रबद्र्धन गर्न नसकेका कारण बन्द गर्नुपरेको उल्लेख गर्दै पुनः सुरु गर्ने सोचाई बनाएपनि गत बर्षको अजोसको बाढीपहिरोका कारण सडक अबरुद्ध भएकाले पनि पुनः प्रक्रिया थाल्न नसकिएको बताए । ‘सुरुमा प्याराग्लाइडिङप्रति केही आकर्षण बढेपनि बिस्तार घट्दै गयो, तर होटल–रिसोर्टलगायत अन्य सुविधा विना नचल्ने देखिएपछि बन्द ग¥यौँ, केही होटल ब्यवसायका पूर्वाधार बन्दै गएका छन्, अब पुनः सञ्चालनको तयारीमा लाग्दैछौँ” उनले भने । फल्चोकीको प्याराग्लाइडिङ बन्द भएपछि त्यहाँका पाइलट तथा कर्मचारी पोखरा गएका छन् ।

हुमागाईंका अनुसार व्ययवसायिक उडान सुरुअघि प्याराग्लाइडिङबाट ‘डेमोष्ट्रेशन’ उडान भएको थियो । परीक्षण उडानपछि दश वटाले प्याराग्लाइडिङबाट उडान सञ्चालन व्यवस्थित गरिएको थियो । प्याराग्लाइडिङका लागि फुल्चोकीस्थित गुर्दूम डाँडामा ‘टेकअप’ र कुशादेवी बन्चरेटारमा ‘ल्याण्डिङ’का लागि जमिन भाडामा लिइएको थियो ।

कुशादेवी क्षेत्र विसं २०७६ मै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दूम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछि अन्य दुई पटक व्यवसायिक उडानका लागि परीक्षण भैसकेका थिए ।

फुल्चोकी–कुशादेवी क्षेत्रमा उडानभर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले उक्त कम्पनीले अनुमति पाएको जनाइयो । यस्तै उक्त स्थानमा विहान १० बजेदेखि अपरान्ह चार बजेसम्म उडान गर्न सकिने तथा तोकिएको समयमा छ हजार ५०० फिट उचाईसम्म ‘भिजिबीलिटी’ रहने गर्दछ । गुर्दूम डाँडाबाट बन्चरेटार सडकको दुरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दुरी करिव एक हजार ५० मिटर छ ।

उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार ३०० मिटरमा छ । प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई सोही विषयको अध्ययनसमेत गराइएको थियो । ‘प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रचारात्मक हुने आशा गरेका थियौँ’ पनौती–२ का वडाध्यक्ष पुरुषोतम अधिकारीले भने ।

उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको थियो । नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाईक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाईक (कम्यूनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र नीजि होमस्टे, तामाङ साँस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ ।

एक पटक पढ्नुहोस