After header

काभ्रेको रोशीमा अस्थायी संरचना निर्माण पश्चात अस्पताल हस्तान्तरण

काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा गत वर्षको बाढीका कारण १० शैयाको अस्पताल बगाएपछि करीब ८ महनिापछि अस्थायी संरचना निर्माण गरि हस्तान्तरण गरिएको छ । गत असोज १०, ११ र १२ गते परेको बर्षा पश्चात आएको रोशी खोलाको बाढीले बगाएको रोशी आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात एक कार्यक्रमको बिच हस्तान्तरण गरेको हो ।

विश्व स्थास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको अस्पताल संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेर मन्त्रालयले रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको रोशी–१ फलामेसाँघुमा अवस्थित १० शैयाको रोशी आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो ।

अस्थायी रुपमा सञ्चालित अस्पतालको भवन पनि बगाएपछि अलपत्र अवस्थामा टेन्टमा बसेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए ।रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी मेडिकल क्याम्प किड हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गर्दै सहसचिव बुढाथोकीले आधारभूत अस्पताल बनाउन संघीय सरकारको दायित्व भएकोले बेजट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताए । स्थायी अस्पताल भवन निर्माण गर्नको लागि आवश्यक ठाउँ पहिचान गरेमा बजेत व्यवस्थापन हुने उनको भनाई छ । विपदमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने उनको भनाई छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवनसहित रोशीमा धेरै जनधनको क्षती पुर्याएको बताए । निर्माणको ९० प्रतिशत सम्पन्न भएको भवन बाढीले बगाएपछि स्वास्थ्य सेवा दिनको लागि छटपटाई रहेको अवस्थामा अर्धपक्की भवन प्राप्त गरेपछि खुसी लागेको लामाले बताए । अर्धपक्की भवनसहित स्वास्थ्य सामग्री प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई गाउँपालिका अध्यक्ष लामाले आभार प्रकट गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले स्वास्थ्य क्षेत्रमा सहयो गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने उनको भनाई छ ।अर्धपक्की भवन पाएपछि रोशी आधारभूत अस्पतालबाट रोशी गाउँपालिकाको वडा नं. १,२,३ र ४ का नागरिकले सुविधा पाउने रोशी गाउँपालिकाका अध्यक्ष मिमबहादुर वाईबाले बताए ।

रोशी गाउँपालिकाका नागरिकलाई मात्र नभई नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका केही वडाका नागकिरले पनि स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाई छ । यस भेगका स्थानीयले स्वास्थय सेवा नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।जिल्ला जनस्वास्थय कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले अस्पतालमा नागरिकले पनि चासो दिएर आफ्नो स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । अस्पताल बनाएर स्वास्थ्य सेवा लिन अन्यत्र जाँदा सरकारको लगानी सदुपयोग नहुने भन्दै नजिको अस्पतालमा सेवा लिन नागरिक जागरुक हुनुपर्ने बताईन् ।

अस्पताल भवनसँगै अस्पतालको लागि आवश्यक सबै सामग्री पनि विश्व स्वास्थ्य संगठनले हस्तान्तरण गरेको छ । तीन महिनाको लागि १० हजार जना सेवाग्राहीलाई पुग्ने औषधी पनि संगठनले हस्तान्तरण गरेको छ । अस्थायी रुपमा सञ्चालन गर्नको लागि ५ बेडको क्षमता रहेको छ ।गाउँपालिकाले सहयोग गर्ने विश्व स्वास्थ्य संगठन र निर्माण कम्पनी एस एस आरलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका थिए ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नं. १ की कार्यवहाक वडाध्यक्ष मनकुमारी लामा, वडा नं. २ का वडाध्यक्ष हस्तमान लामा, वडा नं. ३ का धनजीत लामा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य लगायतको उपस्थिती रहेका थिए ।

एक पटक पढ्नुहोस