काभ्रे । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँछन् पनौतीबासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता रहीआएको छ ।
जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि बर्षा सुरु हुन्छ । यहाँको जनविश्वास अनुसार जात्राको अन्तिम दिन पनि बर्षा हुनैपर्छ । प्रत्येक बर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि रहेको छ । स्थानीय बुढापाकाको भनाईमा काभ्रेपलाञ्चोकको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । जात्रा आज सोमबारदेखि सुरु हुँदैछ ।
जात्रा सकेर खेतमा रोपाईं सुरुगर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो । किंबदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रम्हायणी र भद्रकालीको पूजागर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए ।
त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय विकुनारायण ताम्राकार बताउछन्न ।करिव पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक बर्षको त्रयोदशीका दिन नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा पूजाअर्चना गरिन्छ ।
यस्तै ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सवेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा ‘यौन क्रियाकलाप’मा रथलाई एक आपसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।
स्थानीय बृद्धबृद्धाको भनाईमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछागर्ने कार्यका रुपमा रथ जुधाइन्छ ।
रथ जुधाईसँगै अविरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिरजात्रासहित रथ जुधाउन तछाडमछाड गर्छन् ।
इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जंगमका अनुसार रथ जुधाईमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही बर्षदेखि देवतारुपी रथलाई दिउँसो जुधाउने गरिएको छ ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य(आचाजू)हरु सुस्तरी हिंड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाईं सफल हुने जनविश्वास गर्दै आइन्छ ।
कुनै बर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । अर्को रोचक प्रसङ्ग, जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवत्रिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलीदिने प्रथा अझै कायम रहेको बताइन्छ ।
किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तिर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ ।
भारतको प्रयागमा गंगा र यमूना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दुध बग्ने नदीलाई पद्यमावती मानिँदै आइएको छ ।