After header

केयूमा विदेशी विद्यार्थी १ सय १८ सहित एक हजार एक सय २९ दीक्षित हुँदै

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौ विश्वद्यिालय (केयू)मा ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा शुक्रबार विभिन्न तह एवं विधामा एक हजार एक सय २९ विद्यार्थी दीक्षित हुने भएका छन् ।समारोहको प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न हुने जनाइएको केयूद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको समुपस्थिति रहने जनाइएको छ । यस्तै सो समारोहमा केयूबाट स्कुल अफ आर्टसका १ सय ६३, स्कुल अफ एजुकेसनका १ सय २, स्कुल अफ इन्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका १ सय १०, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन् ।

यसैगरि समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४, डीएम तहका ८, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५ सय १३, पीजीडी तहका ४ र स्नातक तहका ५ सय १९ जना दीक्षित हुने छन् ।दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत पुरुष, र ४९ दशमलव ०७ प्रतिशत महिला रहेका छन् ।

यस्तै दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका १ सय १८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको जनाइयो । सो अवसरमा उपकुलपति प्रा डा अच्युत वाग्लेले केयूको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङअन्तर्गत ‘डक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इन्जिनियसिरङ’मा एक जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० जना र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिशिन’मा १ जना, ‘एमएससी इन कम्यूनिटी हेल्थ नर्सिङ’मा १ जना, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा २ जना, ‘माष्टर आफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’ मा ५ जनालाई उपाधी प्रदान गरिने बताए ।

यसैगरि समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिने भएको छ । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सीजीपए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सीजीपीए प्राप्त गर्ने विद्यार्थी एजल सुजखू, जुद्धबहाुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबीए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाछ स्नातकोत्तर तह एमएस् अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत २ वर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सीजीपीए प्राप्त गर्ने छात्रा यूरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह (स्कुल अफ मेनेजमेन्ट)मा सबभन्दा बढी सीजीपीए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु सम्मानित हुनेछन् ।

तीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयूबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना अथौत् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी रहेको जनाइएको छ ।

एक पटक पढ्नुहोस