काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौ विश्वद्यिालय (केयू)मा ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा आज विभिन्न तह एवं विधामा एक हजार एक सय २९ विद्यार्थी दीक्षित भएका छन् । प्रधमनमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्स्का प्रमुख कार्यकारी अधिकृत बे्रन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति रहेको थियो ।
समारोहमा केयूबाट स्कुल अफ आर्टसका १ सय ६३, स्कुल अफ एजुकेसनका १ सय २, स्कुल अफ इन्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका १ सय १०, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका हुन् ।

यस्तै समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४, डीएम तहका ८, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५ सय १३, पीजीडी तहका ४ र स्नातक तहका ५ सय १९ जना दीक्षित हुने छन् ।दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत पुरुष, र ४९ दशमलव ०७ प्रतिशत महिला रहेका छन् । दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका १ सय १८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको केयूले जनाएको छ ।
समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र कारले संयुक्तरुपमा स्वर्णपदक प्रदान गरेका थिए । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सीजीपए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सीजीपीए प्राप्त गर्ने विद्यार्थी एजल सुजखू, जुद्धबहाुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबीए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाछ स्नातकोत्तर तह एमएस् अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत २ वर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सीजीपीए प्राप्त गर्ने छात्रा यूरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह (स्कुल अफ मेनेजमेन्ट)मा सबैभन्दा बढी सीजीपीए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुलाई पदक प्रदान गरिएको थियो ।
केयूको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङअन्तर्गत ‘डक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इन्जिनियसिरङ’मा एक जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० जना र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिशिन’मा १ जना, ‘एमएससी इन कम्यूनिटी हेल्थ नर्सिङ’मा १ जना, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा २ जना, ‘माष्टर आफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’ मा ५ जनालाई उपाधी प्रदान गरिएको केयूले जनाएको छ ।
समारोहमा कारले माउन्ट सिनाई समन्वय केन्द्र र सहकार्यको नेतृत्व गर्न पाउँदा आफु धेरै भाग्यशाली भएको बताउँदै नेपालको उद्देश्य चिकित्सा शिक्षालाई अगाडि बढाएर, उच्च–गुणस्तरको हेरचाह बढाएर तथा देशभित्र अनुसन्धान अवसरलाई बढावा दिएर नेपालका नागरिकको स्वास्थ्य सुधार गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
केयू उपकुलपति प्रा डा अच्युत वाग्लेले समारोहमा उपस्थितलाई स्वागत गर्दै नेपाल लागयत संसारकै उच्च शिक्षा यतिखेर परिवर्तनको अति महत्वपूर्ण र निर्णायक चौबाटोमा रहेकाले कक्षाकोठा, प्रयोगशाला र कार्यशालामा आधारित शिक्षण सिकाईमार्फत युवाहरुको मस्तिष्कमा जानकारी, ज्ञान र सीपका रुपमा जुन बोझ बोकाइने पद्धती अन्त्यतिर डोहोरिरहेको बताए ।तीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयूबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना अथौत् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी रहेको जनाइएको छ ।
