काठमाडौं । घरमा चट्याङ पर्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।
उनका अनुसार चट्याङ लागेर बुबा नेरसिंह र उनकी श्रीमती सुन्तली घाइते भएकी छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए ।