प्रशिक्षक भाल्भेर्डे भन्छन: प्रशिक्षकले पनि खेलाडीसंग सिक्नुपर्छ

च्याम्पियन्स लिगमा चेल्सीलाई सिकार बनाएका मेसीले नोउ क्याम्पमा बिल्बाओविरुद्ध लगातार छैटौं खेलमा गोल गरेर बार्सिलोनालाई घरेलु लिगमा उपाधि नजिक पुर्‍याएका हुन् । ‘उनी हरेक दिन केही नयाँ गर्छन् । केही फरक गर्छन् । आफूले के गर्नुपर्छ भन्नेमा उनी धेरै सचेत छन्, जुन हरेक क्षण टिमलाई आवश्यक पर्दछ,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टे भाल्भेर्डेले मेसीबारे भने । यो सिजन मेसी २५ गोलसहित स्पेनी लिगमा सबभन्दा अगाडि छन् ।

‘धेरैपल्ट प्रशिक्षकले खेलाडीलाई सिकाउने गर्छन् तर वास्तवमा प्रशिक्षकले पनि खेलाडीसँगै सिकिरहेका हुन्छन् । आशा गरौं हामी सँगै सिकिरहने छौं,’ भाल्भेर्डेले भने । मेसीका महान् प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल गरेपछि रियल म्याड्रिड ६–३ ले जिरोनालाई हराएर तेस्रो स्थानमा उक्लियो । तर अझै रियल १५ अंकले बार्सिलोनाभन्दा पछाडि छ ।

बार्सिलोनाले प्रभाव जमाएको खेलको आठौं मिनेटमै उसलाई पाको अल्कासेरले अग्रता दिलाएका थिए । उसले बिल्बाओलाई निरन्तर दबाब दियो । ओसुमाने डेम्बेलेको पासमा मेसीले ३० औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । बार्सिलोनाले ला लिगामा अपराजित खेल ३६ सम्म पुर्‍यायो । रियल सोसिडाडले सन् १९७९ र १९८० मा बनाएको कीर्तिमानभन्दा बार्सिलोना दुई खेलमात्र टाढा छ ।

भ्यालेन्सियालाई उछिन्दै रियल तेस्रो स्थानमा उक्लिएको हो । बेर्नाबेउको सफलतापछि रोनाल्डोले यो सिजन ला लिगामा व्यक्तिगत गोलसंख्या २२ पुर्‍याए । उनले सबैखाले प्रतियोगितामा पछिल्ला १३ खेलमा २१ गोल गरेका छन् । ‘उनले ला लिगामा मेसी (तीन गोल अगाडि) लाई भेट्टाउने आशा छ । यो उनका लागि महत्त्वपूर्ण हो र हाम्रा लागि पनि,’ रियलका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘जब रोनाल्डोले राम्रो खेल्छन्, टिमले पनि राम्रो खेल्छ ।’

दोस्रो स्थानको एट्लेटिकोले भिल्लारियलसँग २–१ ले हारेपछि बार्सिलोनालाई उपाधि समर्पण गरेजस्तै भएको छ । टर्कीका २० वर्षीय फरवार्ड इनेस उनालले अन्त्यतिर दुई गोल गरेपछि भिल्लारियलले डिएगो सिमोनीको टिमविरुद्ध जित हात पारेको थियो । एट्लेटिकोका लागि एन्टोनी ग्रिजमनले गोल गरेका थिए ।

एक पटक पढ्नुहोस