After header

काभ्रेको रोशी ३ मा जर्मनका विद्यार्थीहरुको सहयोगमा विद्यालय निर्माण

काभ्रे । काभ्रे जिल्लाको रोशि गाउँपालिका वडा नं. ३ मा जर्मनका विद्याथीहरुको सहयोग विद्यालयको भवन निर्माण गरिएको छ । जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थकाजी लामाको अध्यक्षता सम्पन्न कार्यक्रममा भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित एकतले तीनकोठे पक्की भवनको रोशि गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलका करिब ७ सय विद्यार्थीबाट उपलब्ध रु ३१ लाख ७७ हजार ३ सय सहयोगले उक्त भवन निर्माण भएको जनाईएको छ । विद्यार्थीले प्राचार्य इल्की रेमार्फत हिमालयन परियोजनामा दिइएको उक्त रकमले विद्यालय भवन निर्माण गर्न सकिएको हुसेनले बताए । विद्यालय भवन निर्माणका लागि हिमाली गाउँ संरक्षण नेपालले परियोजनासँग समन्वय गरेको उक्त भवन निर्माण गरिएको हो ।

स्थानीय टंकबहादुर राउत र दमाइसिं तामाङले दान गरेको जग्गामा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक मनिका राउतले जानकारी दिइन् । पानी चुहिने र पुरानो भवन भएकाले पठनपाठ गर्न असजिलो भएको बेलामा सस्थाले गरेको यो सहयोग विद्यालयले कहिले नबुल्ने उनले बताई । २०४९ सालमा स्थापना गरिएको विद्यालयले बल्ल नयाँ भवन पायो । प्रधानाध्यापक मनिका राउतले स्वागत मन्तव्य व्यक्त गर्दै भवन निर्माणका लागि जग्गा दान तथा आर्थिक सहयोग प्रदान गर्ने सबै दाताप्रति हार्दिक आभार व्यक्त समेत गरेकी थिईन् ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष लामाले नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको र विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामाले पालिकाले स्वास्थ्य र शिक्षाका लागि सुधार गदै आएको बताउदै विद्यालय निर्माण गरिदिने सस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल,वडा नं ५ का अध्यक्ष निरध्वज लामा, वडा नं ३ का अध्यक्ष धनजित लामा, हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष कान्छी लामा, स्थानीय समाजसेवी टुल्कु लामा लगायतले विद्यालयमा थप शैक्षिक गुणस्तरका लागि शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर थप सुदृढ भएको विश्वास लिइएको छ । सो अवसरमा जग्गादाता राउत र तामाङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाका अन्य विद्यालयका प्रअ, जनप्रतिनिधि, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षिका कल्पना पौडेलले गरेकी थिईन भने कार्यक्रममा उक्त परियोजनाले विद्यालयलाई एक थान ल्यापटप कम्प्युटर समेत सहयोग गरेको छ ।

एक पटक पढ्नुहोस