काठमाडौँ । स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रण लिएको छ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९ मा रहेको शिवानि स्टोरमा छापा मारेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्। प्रहरीले उनीहरूको शरीर र पसलको खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद फेला पारेको छ । बरामद रकममा एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्।
नगदका साथै प्रहरीले उनीहरूको साथबाट ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा समेत बरामद गरेको छ । साथै, कारोबारमा प्रयोग भएको आशंका गरिएको बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध र अवैध रकमका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।
