अमेरिकी दूतावासको भ्रामक ‘एड्भाइजरी’

नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरीसहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जनाएको छ । माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरू बताउँछन् ।
दूतावासले मंगलबार एड्भाइजारी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो । दूतावासले उक्त क्षेत्रमा स्थानीय समूहहरूले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका निमित्त सुरक्षा अलर्ट जारी गरेको हो । दूतावासले निकालेको उक्त अलर्टमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।
सरकारले पनि अमेरिकी दूतावासको दावी भ्रामक रहेको भन्दै खण्डन गरेको छ । नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावासले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । “अमेरिकी दूतावासले किन यो विषयमा सुरक्षा अलर्ट जारी गरेको हो भन्ने विषयमा म कुरा गर्नेछु,” मन्त्री अधिकारीले बुधबार कारोबारसँग भने । अमेरिकी दूतावासमात्रै नभएर अन्य कुटनैतिक नियोग तथा दूतावासहरूले यस्ता विषयमा छलफल गरेर मात्रै अगाडि बढ्नसमेत मन्त्री अधिकारीले आग्रह गरेका छन् । “नेपालको सुरक्षामा कुनै पनि चुनौती छैन, नेपाल आउने सम्पूर्ण देशका नागरिकको सुरक्षाको जिम्मा नेपाल सरकारले लिन्छ,” मन्त्री अधिकारीले भने ।
चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेक शाहले पनि अमेरिकी दूतावासले यस्तो अलर्ट किन जारी गर्यो भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेको बताए । “विगतको माओवादी द्वन्द्वकालमा समेत नआउने यस्तोखालको विज्ञप्ती पहिलोपटक अमेरिकी दूतावासले जारी गरेकोप्रति हाम्रो आपत्ति छ,” शाहले भने ।
दूतावासले कुनै निश्चित होटल र पर्यटकीय क्षेत्र तोकेर यसअघि अलर्ट जारी नगरेको दावी गर्दै शाहले यसपटक सहज परिस्थितिमा समेत अलर्ट जारी गर्नु शंकास्पद रहेको महाप्रवन्धक शाह बताउँछन् । “हामीले प्रहरी प्रशासनदेखि जिल्ला प्रशासन कार्यालयसम्म र स्थानीय प्रहरीलगायत सवैतिर यो विषयमा जानकारी लिएका छौं, तर कतै पनि यस्तो खालको पत्रहरू नगएकोले आफूखुसी दूतावासले कसैको उक्सावटमा यो कदम चालेको देखिन्छ,” शाहले भने । उक्त क्षेत्रमा कुनै पनि सुरक्षा चुनौती नरहेको भन्दै ढुक्कले यात्रा गर्न शाहले आग्रह गरे ।

एक पटक पढ्नुहोस