After header

नेपाली काग्रेँस नेता एवं पूर्व राज्यमन्त्री खरेलको निधन

काभ्रे । नेपाली काग्रेँसका नेता एवं पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । पिता सुब्बा देवीप्रसाद तथा माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा वि.सं. २००३ सालमा काभ्रेलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका राजेन्द्र खरेल नेपाली काग्रेँसका आदर्शवान नेताका रुपमा परिचित थिए । वि.सं. २०२५–२०२६ सालतिर तत्कालीन नेशनल कलेज हालको शंकरदेव कलेजमा पढ्दाताका कलेजमा नेपाल विद्यार्थी संघको इकाइ गठन गरी हालका अर्थशास्त्री विश्वम्भर प्याकुरेल अध्यक्ष र उनी सचिव भएर राजनीतिमा होमिएका थिए ।

वि.सं. २०३६ को जनमत संग्रह, वि.सं. २०४२ को सत्याग्रह होस् वा वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०६२, २०६३ को जनआन्दोलन सबै बेला उनी सक्रिय थिए । नेपाली काग्रेँसको राजनीतिमा सक्रिय भएबापत पटक पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका राजेन्द्र खरेल जेल बस्दाताका थुनामा रहेका सबै अभावग्रस्त साथीहरुको सहारा भएका थिए । नेपाली काग्रेँसको राजनीतिसँग अत्यन्तै निकट रहेर काम गरेका राजेन्द्र खरेल वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता महान हस्तीहरुको भरोसा र विश्वास पात्र भएर पार्टीमा काम गरेका थिए ।

नेपाली कांग्रेस काभ्रेको इतिहासमा उनको उल्लेख्य योगदान रहेको छ । ०५६ सालमा शिक्षा राज्यमन्त्री हुँदा उनले काभ्रेको शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका थिए । वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेको क्षेत्र नं. ३ बाट निर्वाचित भएका उनी शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत भएका थिए । शिक्षा राज्यमन्त्री भएका वखत काभ्रेमा प्राथमिक शिक्षा परियोजन लागू खरेलले गरेका थिए ।

जसमार्फत भवन लगायतका भौतिक पूर्वाधारको अभाव भएका कैयौँ विद्यालयहरुको भौतिक संरचना निर्माण मात्रै भएन, प्राथमिक तहको शिक्षा सर्वसुलभ हुँदै स्तरोन्नतिमा समेत त्यसले महत्वपूर्ण भूमिका खेलेका थिए । राज्यमन्त्री भएका बेलामा पनि कार्यकारी अधिकार पाएका उनले देशभरी झण्डै १ हजार ३०० शिक्षक दरबन्दी वितरण र काभ्रेमा मात्रै झण्डै २५० वटा शिक्षक दरबन्दी भित्राएका इतिहास रहेका छन् ।

उनका छोरा महेश खरेल हाल पाँचखाल नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति समेत रहेका छन् । निष्ठा, मूल्य र मान्यताको राजनीतिमा लाग्न प्रेरणा गर्नुहुने, इतिहासका धरोहर खरेलको निधनले नेपाली कांग्रेस, विशेषगरि काभ्रे कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । खरेलको ८० वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको लामो समयदेखि उपचार भइरहेको थियो ।

एक पटक पढ्नुहोस