नाकबाट पानी बग्ने समस्या छ , यसो गर्नुस्

विश्वमै दुर्लभ मानिएको सिएसएफ राइनोरिया अर्थात् नाकबाट पानी बग्ने समस्या नेपालमा देखिन थालेको छ । रुघाका कारण पनि नाकबाट पानी बग्ने गर्छ । यसलाई सामान्य रूपमा लिइन्छ । तर, कहिलेकाहीँ राइनोरियाका कारण पनि नाक वा कानबाट पानी बग्न सक्छ, जसलाई खतरनाक मानिन्छ ।

यसकारण निस्कन्छ

कानबाट पानी निस्कनुलाई सिएसएफ अटोरिया भनिन्छ र नाकबाट निस्कनेलाई सिएसफ राइनोरिया भनिन्छ । यसलाई नर्मल मानिँदैन । हाम्रो नाकको सीधा माथि मस्तिष्क हुन्छ ।

यसलाई माथिल्लो, मध्य र तल्लो गरी तीन भागमा विभाजन गर्न सकिन्छ । मध्य र तल्लो भागमा चोट लागेमा नाक र कानबाट पनि पानी बग्न सक्छ । सबैभन्दा अगाडिको भागमा चोट लागेको खण्डमा नाकबाट निस्कन्छ ।

मस्तिष्कमा लागेको चोटका कारण निरन्तर नाकबाट पानी बगेमा मेनेन्जाइटिस हुने सम्भावना हुन्छ । मस्तिष्कबाट नाकसम्म झर्ने बाटो बनेकाले संक्रमणको डर बढी हुन्छ । किनकि, दिमागबाट ब्याक्टेरिया झरेका हुन्छन् ।

सिएसएफ राइनोरिया जन्मजात र दुर्घटना, अप्रेसन वा कुनै क्यान्सरले लाग्न सक्छ । बच्चाहरूमा पनि यो समस्या देखा पर्न सक्छ । बच्चाको शारीरिक बनावट चुस्त नहुँदा शरीरका माध्यमबाट कीटाणु ब्रेनसम्म पुग्छन् । ब्रेनका सूचकहरू एक–आपसमा जोडिएका हुन्छन् । कतिपय बच्चामा यसरी नजोडिएको पनि हुन सक्छ । यस्तो हुनु समस्या हो ।

थाहा पाउन

निरन्तरचाहिँ पानी बग्दैन । बिरामीको अवस्थाअनुसार पानी बग्छ । रुघा लागेर वा अन्य कारणले पानी आउने फरक विषय हो । रुघा लागेको व्यक्तिको सिँगान रुमालले पुछेपछि कडा भएर रहन्छ । तर, यो सिएसफ राइनोरियाको पानी सङ्लो हुन्छ । रुमालमा राख्दा केही छिनमा सुकेर जान्छ र देखिँदैन ।

रुघा लाग्दा नियमित पानी बग्ने गर्छ । तर, राइनोरिया भएमा मानिस उत्तानो परेर सुत्दा पानी बग्दैन र केहीछिनमा जुरुक्क उठेर घोप्टो पर्दा पानी चुहिने गर्छ ।

कहिलेकाहीँ पानीसँग मिसिएर रगत पनि आउँछ । यसरी रगत मिसिएर आएको पानी रुमालमा झर्दा बीचमा रातो हुन्छ र बिस्तारै रिङको आकार लिन्छ । जसलाई हेलो साइन भनिन्छ । यसको परीक्षण प्याथोलोजी ल्याबमा गरिन्छ ।

एक पटक पढ्नुहोस