मध्यपहाडी लोकमार्गको काम तीव्र

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम तीव्र गतिमा भइरहेको छ । लोकमार्गको स्तरवृद्धिको काम भएपछि त्यस क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई सजिलो भएको छ । यसअघि एक दिन लाग्ने रुकुम पश्चिमको खलंगादेखि रुकुमपूर्वको काँक्रीसम्म ४ घण्टामै पुग्न सकिने भएको छ ।
१३० किमि लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर स्तरवृद्धिको काम भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीदेखि रुकुमपूर्वको पातिहाल्नसम्मका विभिन्न खण्डमा कालोपत्रेका लागि विभिन्न काम भइरहेको हो । चौरजहारीदेखि चाइनबगरसम्मको १६.५ किमि, चाइनबगरदेखि हासिबाङसम्मको १६.५ किमि र शीतलपोखरीदेखि रिनदहसम्मको १४ किमि सडकखण्ड छ । त्यस्तै रिनदहदेखि रुकुमकोटसम्मको १९ किमि, रुकुमकोटदेखि जितखोलासम्मको १६ किमि, जितखोलादेखि रिकमसम्मको १६ किमि र रिकमदेखि पातिहाल्ना रुकुमपूर्व र बाग्लुङ जिल्लाको सिमानासम्मको १३ किमि सडक खण्डमा पनि कालोपत्रे हुनुपूर्वका आधारभूत काम जारी रहेको मध्यपहाडी लोकमार्ग सडक आयोजना कार्यालयले जानकारी दिएको छ । हाल उक्त सडक खण्डमा कालोपत्रेका लागि आवश्यक स्तरवृद्धिका काम भइरहेका छन् । आगामी ३ वर्षभित्र कालोपत्रे गर्ने गरी काम भइरहेको मध्यपहाडी लोकमार्ग सडक आयोजनाका इन्जिनियर सुप्रिम चुडालले जानकारी दिए ।
उनका अनुसार उक्त सडकको शीतलपोखरीदेखि रिनदहसम्मको १४ किमि सडकमा सबैभन्दा बढी काम भएको छ । कालिका प्यासिफिक जेभीले उक्त खण्डमा काम गरिरहेको छ । सोही कम्पनीले ठेक्का पाएको रुकुम पश्चिमको रिनदहदेखि रुकुमपूर्वको रुकुमकोटसम्मको १९ किमि सडक कालोपत्रेको तयारीस्वरूप सडक चौडा पार्ने काम भइरहेको छ । उक्त सडकको विभिन्न छ वटा खोलामा मोटरेबल पुल निर्माणकार्य पनि भइरहेको छ । मध्यपहाडी लोकमार्गको काम धमाधम भएपछि त्यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।

एक पटक पढ्नुहोस