जिदानले छाडे रियल मड्रिड

प्रशिक्षक जिनेदिने जिदानले अप्रत्याशित रुपमा रियल मड्रिड छाड्ने निर्णय गरेका छन् ।

क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।

अब अगाडि के गर्ने भन्ने बारे उनले केही खुलाएनन् । उनले भने, ‘हामी फेरि पनि भेटिन सक्छौं । मैले लिएको निर्णयमा धेरैले कुनै महत्व देख्दैनन् । तर, मेरा लागि यो महत्वपूर्ण छ ।’

उनले क्लबमा धेरै कुरा फेरिएको हुँदा आफूले यस्तो निर्णय लिएको बताए । ‘यो केही परिवर्तन गर्ने अवसर हो । मलाई लाग्छ मेरो निर्णयले सबैलाई राम्रै गर्छ’ उनले भने, ‘रियल मडि्रडले लगातार जितिरहनुपर्छ । मैले गर्ने काम गरेँ । अब क्लबले नयाँ शैली र नयाँ उपाय अपनाउनुपर्छ ।’

फ्रान्सबाट खेलाडीका रुपमा पनि च्याम्पियन्स लिग र विश्वकप जितेर सफल बनेका उनले पहिलो पटक क्लब सम्हाल्दा पनि आफू उत्कृष्ट रहेको सावित गरे ।

उनी सन् २०१६ को जनावरीमा सिजनको बीचबाट राफेल बेनिटेजको स्थानमा रियल मड्रिडको प्रशिक्षक नियुक्त भएका थिए । त्यससँगै उनले लगातार तीन सिजन मडि्रडलाई च्याम्पियन्स लिग जिताएर कीर्तिमान बनाए ।

गएको हप्ता तेस्रो उपाधि जिताएसँगै कीर्तिमानी रियल मड्रिडमा रहँदा आफूलाई गर्व लागेको ४५ वर्षका प्रशिक्षक जिदानले बताएका थिए । तर, त्यसको एक हप्ता नबित्दै उनले क्लब छाडेका छन् ।

एक पटक पढ्नुहोस