निगमले वाइडबडी जहाज दुबई उडाउने

नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखेपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्लट’ मागेको छ । नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखेपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्लट’ मागेको छ । निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ । निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुँदैछ । निगमको जहाजले सुरुमा दुबईबाट उडान गर्नको लागि बिहान ८ः१५ बजे उडानको स्लट अनुमति माग्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निवेदन दिएको छ । “निगमले पहिलो वाइडबडी जहाजको उडान दुबईको लागि स्टल मागेकोले मिलाउने प्रक्रिया जारी रहेको छ,” विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने बिहान जानेको लागि अनुमति दिइसकेको छ । बेलुका पनि ७ः१५ बजे फर्कने स्लटको लागि  समस्या रहेकोले मिलाउनको लागि छलफल भइरहेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । निगमले वाइडबडी जहाजमार्फत् दक्षिण कोरियाको सोल र जापानको ओसाकामा उडान भर्नको लागि प्रक्रिया अगाडि बढाएको भए पनि अनुमति पाउन सकेको छैन । “निगमले पहिलो चरणमा उक्त दुई गन्तव्यमा उडान गर्नको लागि सम्बन्धित मुलुकसँग अनुमति लिन प्रक्रिया केही ढिलाइ भएपछि दुबई उडान गर्न लागेका हौं,” निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले भने । कोरिया र जापान तथा साउदी अरब नै उडान गर्ने निगमको लक्ष्य भए पनि केही ढिलाइ हुने देखिएकोले दुबईबाट उडान सुरु गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए । निगमले हाल पनि दुबईमा एयरबस ३२०–२०० सिरिजको न्यारोवडी जहाजमार्फत् दैनिक एक उडान गर्दै आएको छ । दुबईमा हाल १ लाखभन्दा बढी नेपाली कामदारहरू रहेको अनुमान रहेको छ । दक्षिण कोरियामा कामदार भिषामा गएका झन्डै ४० हजार नेपालीहरू रहेका छन् । त्यस्तैगरी शैक्षिक भिषामा पनि वार्षिक १ हजारका दरले दक्षिण कोरिया जाने गरेका छन् भने व्यावसायिक भिषामा कोरिया जाने पनि सयौंको संख्यामा हुने गरेका छन् । जापानमा हाल ८० हजारभन्दा बढी विद्यार्थी भिषामा नेपालीहरू गएका छन् । वार्षिक ३ हजार विद्यार्थीहरू पछिल्लो समय अध्ययनको लागि जापान जाने गरेका छन् भने कुक तथा अन्य कामदार भिषामा पनि वार्षिक सयौंको संख्यामा नेपालीहरू जापान पुग्ने गरेका छन् । नेपालबाट सिधा उडान हुन सकेमा विशेषगरी नेपालीहरू लाभाविन्त हुनेछन् भने जापानी पर्यटकसमेत बढ्ने अपेक्षा गरिएको थियो । निगमले हाल तीन वटा जहाजमार्फत् ९ वटा गन्तव्यमा उडान भर्दै आएको छ । निगमसँग हाल एयरबस ३२०–२०० सिरिजका दुई थान जहाज छन् भने एक थान बोइङ ७५७ जहाजमार्फत् उडान भर्दै आएको छ ।
अकुपेन्सी अहिलेसम्मकै उच्च निगमले पछिल्लो तीन महिनामा ५४ हजार ३ सय ३७ अन्तर्राष्ट्रिय हवाई यात्रुलाई सेवा दिएको छ । पछिल्लो तीन महिना अकुपेन्सी उच्च रहेको निगमले जनाएको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले वैशाखमा ८५.५४ प्रतिशत अकुपेन्सी रहेको बताए । उनका अनुसार फागुनमा ७७.४७ र चैत महिनामा ८४.५६ प्रतिशत अकुपेन्सी रहेको छ ।

एक पटक पढ्नुहोस