काठमाडौं – केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनाइ थियो।
यो भनाइ बजारमा बिक्रीवितरण हुने अखाद्य वस्तुको विकृतिप्रति लक्षित थियो । माछामा प्रयोग गर्ने फर्मालिनले मानव स्वास्थ्यमा असर पुर्याउने भएकाले बजारको बेथितिबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीको भनाइले अहिलेको बजारको अवस्थालाई प्रतिनिबिम्बित गर्छ । माछामात्र नभएर अहिले बजारमा बिक्रीवितरण हुने खाद्यवस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटिएका छन्।
बाबा भेजिटेबल आयल उद्योगले उत्पादन गरेको सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा उक्त तेलमा मानव स्वास्थ्यमा असर पर्ने दूषित तत्व भेटिएको हो । बाबा तेलमात्र नभएर कुसुम आयल, बागमती, स्वस्तिक, आरतीलगायतका खाना पकाउने तेल दूषित र गुणस्तरहीन भेटिएको गुण नियन्त्रण विभागले जनाएको छ । गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।
तेलमात्र नभएर खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाईंमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्रीवितरण गरेको भेटिएको छ । एसियन थाई फुड्सले उत्पादन गरेको तयारी चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी भएकाले न्यून गुणस्तर भएको विभागले जनाएको छ ।
हनुमान ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट र रारा पानीमा पिए बढी भेटियो भने कतिपय कम्पनीको दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिएको छ । दैनिक उपभोग्य वस्तुको नमुना संकलन गरेर प्रयोगशालामा गरिएको परीक्षण गर्दा दूषित र गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।विभागले गरेको अनुगमनमा वैशाखमा मात्र करिब १७ उद्योगका उत्पादन गुणस्तरहीन भेटिएका छन् । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।
तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दुषित र गुणस्तरहीन भेटिएपछि गुण नियन्त्रण विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।
पानीपुरी र चटपटेमा प्रयोग हुने रङ र तेल पनि गुणस्तरहीन भेटिएको छ । केही समयअघि आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा पानीपुरी पकाउँदा प्रयोग गर्ने कुहिएको गुणस्तरहीन तेल बरामद गरेको थियो। पानीपुरीमा मोबिलजस्तो कालो तेल प्रयोग गर्ने गरेको भेटिएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए।
फलफूललाई छिटो पकाएर पहेंलो बनाउन कार्बाइड नामक रसायन प्रयोग हुनेगरेको छ । उक्त रसायन फलाम वेल्डिङ गर्दा पनि प्रयोग हुने डाक्टर डिपी सिंह बताउँछन् । ‘काँचो फलफूललाई छिटो पकाउन प्रयोग हुने रसायनले विभिन्न प्रकारका रोग लाग्छन्,’ सिंहले भने, ‘डायबिटिज, ब्लड प्रेसर पनि हुन्छ ।’ दैनिक उपभोग्य वस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने रसायन प्रयोग गरेकाले विभिन्न रोगको संक्रमण बढेको चिकित्सक सिंह बताउँछन् ।
तरकारीमा विषादी, चामल, दाल, तेलमा पनि विभिन्न रसायनको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परेको सिंहले थपे । तरकारी खेती गर्ने, माछा मार्ने, च्याउ, फलफूलमा काम गर्ने किसान रसायन र विषादी प्रयोग गर्दा बिरामी भएर आएपछि आफूले त्यस्ता धेरैको उपचार गरेको उनले बताए । ‘अखाद्य वस्तुका कारण मानव स्वास्थ्य जोखिममा छ,’ उनले भने, ‘सरकारले अनुसन्धान गरेर नियन्त्रण गर्न पहल गर्नुपर्छ।’
तरकारीको नमुना संकलन गरेर विषादीको मात्रा मापन गरी खान योग्य छ÷छैन सिफारिस गर्नुपर्ने निकायले काठमाडौंको कालिमाटी तरकारी बजारबाहेक अन्यत्र परीक्षण गरेका छैनन् । तरकारीमा विषादीको मात्रा धेरै भएको कुरा पटकपटक उठे पनि सम्बन्धित सरकारी निकाय मौन छन् । कालिमाटीको तरकारी परीक्षण गर्दा हानिकारक विषादीको मात्रा फेला परेको थियो ।
तरकारी, खाद्यान्न, कुखुरामा प्रयोग हुने विषादीले विभिन्न प्रकारका रोग निम्त्याएको अर्का डाक्टर तरुण पौडेलले बताए । ‘छिटो फलाउने नाममा विभिन्न प्रकारमा विषादी प्रयोग भइरहेका छन्,’ उनले भने ।दैनिक उपभोग्य वस्तुमा अखाद्य वस्तुको प्रयोग बढेकाले अनुगमन बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
‘बजारमा विभिन्न खाद्य वस्तुको नमुना परीक्षण गर्दा दूषित वस्तु भेटिएका छन्,’ विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘गुणस्तरहीन वस्तु उत्पादन तथा बिक्री गर्नेलाई कानुनबमोजिम कारबाही गर्छौं ।’ विभागले बजारसँगै होटलहरुको पनि अनुगमन गरेको उनले बताए । चालू आर्थिक वर्षमा एक सय ३५ विभिन्न उद्योगविरुद्ध मुद्दा दायर गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘खाद्य ऐनबमोजिम कारबाहीका लागि मुद्दा दायर गरेका छौं,’ वस्तीले भने, ‘अनुगमन प्रभावकारी बनाउछौं ।’
मानव स्वास्थ्यमा असर पर्ने न्यून तथा गुणस्तरहीन वस्तु उत्पादन र बिक्रीवितरण गर्नेमाथि कारबाही गर्ने कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि शर्माले बताए । ‘मातहतका निकायलाई प्रभावकारी अनुगमन गर्न निर्देशन दिएका छौं,’ उनले भने।
