बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ ।
महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् ।
बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठे पछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको उनले बताइन् ।
‘म माथि पटक-पटक गुरुले बलातकार गर्नु भयो, यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनु भयो र मैले उजुरी हाल्न सकिनँ ।’
बलात्कार भए पछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन । आफूले न्याय नपाउने ठहर गर्दै आत्महत्याको प्रयास समेत गरेको भन्दै उनले पछि अरुले नै आत्महत्याबाट बचाएको बताइन् ।