न्युटन र आइन्स्टाइनले विज्ञान बुझेका थिएनन्: एक भारतीय वैज्ञानिक

केही भारतीय वैज्ञानिकले प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइनद्वारा प्रतिपादित सिद्धान्तको खण्डन गर्दै तिनले विज्ञान नै नबुझेको दाबी गरेका छन्।

धेरैलाई आश्चर्यचकित पार्नेगरी एक जनाले त भारतका प्रधानमन्त्रीको सम्मानमा ग्र्याभिटेशनल वेभ्स (गुरुत्वाकर्षणका तरङ्ग)को नाम फेरेर ‘नरेन्द्र मोदी वेभ्स’ राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

भारतमा आयोजित इन्डियन साइन्स कङ्ग्रेसमा सहभागी भएका केही विद्वान्‌हरूले यीबाहेक अन्य अपत्यारिला र अवैज्ञानिक दाबी गरेपछि तिनको वैज्ञानिक समुदायबाट आलोचना भएको छ।

महाभारतमा उल्लिखित गान्धारी र धृतराष्ट्रका सय भाइ छोराको प्रसङ्ग उल्लेख गर्दै केहीले प्राचीन कालमा नै स्टेम सेल र टेस्ट ट्युब बेबीसम्बन्धी अनुसन्धान र काम भएको दाबी गरेका थिए।

प्रत्येक वर्ष हुने सो वैज्ञानिक सम्मेलनमा हिन्दूधर्म र पुराणसँग जोडिएका विषयहरूले स्थान पाउन थालेक‍ा छन्।

हास्यास्पद

दक्षिण भारतको तामिलनाडुस्थित एउटा विश्वविद्यालयबाट आएका एक वैज्ञानिकले सो सम्मेलनमा प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइन दुवै जना गलत भएको दाबी गरेका थिए।

डा केजी कृष्णन नाम गरेका ती वैज्ञानिकले न्युटनले ‘गुरुत्वाकर्षणको विकर्षणको बल’ नबुझेको र आइन्स्टाइनका सिद्धान्तहरू भ्रामक भएको दाबी गरेको बताइएको छ।

उनले गुरुत्वाकर्षणका तरङ्गको नाम फेरेर ‘नरेन्द्र मोदी वेभ्स ‘ राखिनुपर्ने तर्क गरेका थिए।

यस वर्ष आयोजित १०६ औँ इन्डियन साइन्स कङ्ग्रेसमा गरिएका टिप्पणीहरू भने अतिहास्यास्पद भएको विज्ञहरूले बताएका छन्।

जालन्धरमा ज्यानुअरी ३ देखि ७ सम्म आयोजित सो सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए।

एक पटक पढ्नुहोस