जलवायु परिवर्तन: ग्लोबल वार्मिङ र अत्यधिक जाडो हुनुको के सम्बन्ध होला

सम्भवत: यो पदावली ‘ग्लोबल वार्मिङ’ कै कारण मानिसहरू भ्रममा पर्छन्।

त्यसैले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतका मानिसहरूले भनिरहेका छन्, “नत्र अहिले यस्तो ज्यानमारा जाडो किन भइरहेको छ?”

‘ग्लोबल वार्मिङ’को अर्थ संसारभरि सधैँभरि गर्मी मात्र भइरहन्छ भन्ने होइन।

त्यो शब्दावलीको अर्थ यस्तो छ – पृथ्वीको औसत तापक्रम चिन्ताजनक तरिकाले बढिरहेको छ र त्यसले मौसमी अवस्थामा उथलपुथल ल्याइदिन सक्छ।

अहिले मध्यपश्चिम अमेरिकाले भोगिरहेको अत्यधिक चिसो त्यसको एउटा उदाहरण हुन सक्छ।

अस्ट्रेलियाका केही भागमा बढेको अत्यधिक गर्मी र अफ्रिकाको सहेल क्षेत्रमा भइरहेको खडेरी र सुख्खा त्यसको अर्को उदाहरण हुन सक्छ।

तातिरहेको आर्क्टिक क्षेत्र

अहिले अत्यधिक चिसोका कारण अमेरिकाको मध्यपश्चिम क्षेत्रका नगरहरू ठप्प हुने अवस्थामा पुग्नुभन्दा धेरै पहिले नै जलवायु वैज्ञानिकहरूले यस्तो हुन सक्ने भविष्यवाणी गरिसकेका थिए।

विभिन्न अध्ययनहरूमा उनीहरूले आर्क्टिक क्षेत्र तातिरहेकोले अहिलेको अवस्था उत्पन्न हुने उल्लेख गरिसकेका छन्।

त्यस्तो तातोले बरफविहीन समुद्रलाई धेरै तातो फ्याँक्न प्रेरित गर्छ। त्यसले आर्क्टिक क्षेत्र माथि चिसो हावा बहने क्रमलाई कमजोर तुल्याइदिन्छ र त्यो दक्षिणतिर बहन थाल्छ।

“आर्क्टिक क्षेत्र चिसो हुने अवस्थामा भन्दा त्यो क्षेत्र तातो हुँदा सो क्षेत्रको दक्षिणतिर चिसो मौसम र ठूलो हिमपात हुने क्रम बढी हुन्छ,” गत वर्ष नेचर कम्युनिकेशन्समा प्रकाशित अध्ययन भन्छ।

मिशिगन तालको पर्खाल नजिकै हिँड्दै मानिसहरू
Image captionचिसोका कारण शिकागोमा सयौँ उडानहरू रद्द भएका छन्

अहिले अमेरिकामा देखिएको ‘पोलार भोर्टेक्स्’ भनिने ध्रुवीय सिरेटो दक्षिणतिर धकेलिइरहेकोबारे यसअघि पनि विभिन्न अध्ययनहरूमा उल्लेख गरिएको थियो।

अपूरो विज्ञान

तर केही अध्ययनहरूले ‘पोलार भोर्टेक्स्’मा देखिएका विचलनको पछाडिको विज्ञान अझै पूर्ण हुन नसकेको देखाएका छन्।

“हिउँदमा हावाको बहाव र जमिनको तापक्रममा ‘पोलार भोर्टेक्स्’को भूमिका हुने भए पनि हालैका चिसो हुने क्रमको गहन विश्लेषण हुन बाँकी नै छ,” सन् २०१७ मा अमेरिकी मौसमविद्हरूको समाजले भन्यो।

बढ्दो तापक्रमले गर्मीलाई झनै विकराल बनाउने गरेको पुष्टि भइसकेको एनिलिया विश्वविद्यालयको जलवायु अनुसन्धान एकाइमा बेन वेबरले बताए।

उनले बीबीसीसँग भने, “त्यसले अहिलेको जस्तो चिसो अवस्थालाई झनै विकराल बनाइदिएको हुन सक्छ। तर यो थप अध्ययनको विषय हो।”

‘ग्लोबल वार्मिङ’ले चरम मौसमी अवस्थाहरू सिर्जना गरिदन्छ भन्ने सिद्धान्तमा दुई मत नहोला।

तर वैज्ञानिकहरूका अनुसार अन्य विभिन्न कारणले पनि मौसमलाई प्रभावित तुल्याइदिने गरेको छ।

जस्तो कि एल निनो भनिने मौसमी अवस्था। त्यो चाहिँ मध्यपूर्वी भूमध्यसागरीय प्रशान्त क्षेत्र तातो हुँदा उत्पन्न हुने गरेको छ।

एल निनोको असरलाई वैज्ञानिकहरू विश्व तापमानमा भएको वृद्धिका कारण भएको हो भन्दैनन्।

बीबीसी

एक पटक पढ्नुहोस