After header

एभरेष्ट र लक्ष्मी बैंकको ‘बिग मर्जर’ टर्यो

पछिल्लो समय चर्चाको विषय रहेको ठूला बैंकहरुबीचको मर्जर -बिग मर्जर) को सम्भावना तत्कालका लागि टरेको छ । दुई ठूला वाणिज्य बैंकहरु (एभरेष्ट र लक्ष्मी बैंक) बीच हुने भनिएको मर्जरको सहमति भाँडिएसँगै विग मर्जर पनि तत्काल नहुने देखिएको हो ।

एभरेष्ट र लक्ष्मी बैंकबीच हुने भनिएको मर्जरको सम्भावना टरेको एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले बताए । शुक्रबार पञ्जाव नेशनल बैंक भारतका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको स्वागतमा एभरेष्टले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो खुलासा गरेका हुन् ।

दुई बैंकबीच मर्जरका लागि छलफल भए पनि स्वाप रेसियोमा कुरा नमिलेका कारण मर्जर सफल हुन नसकेको उनको भनाइ छ ।

‘पहिले राजेन्द्र खेतान जी नै आउनु भएको थियो, वहाँ आए पछि स्वाप रेसियोको विषयमा अध्ययन भयो’, अध्यक्ष श्रेष्ठले भने, ‘लक्ष्मीको २.७५ कित्ता सेयर बराबर एभरेष्टको एक कित्ता सेयर हुने गरी अध्ययनले देखाए पछि खेतान जी पछि हट्नु भयो ।’

मर्जर गर्छु भनेर मात्रै नहुने भन्दै मर्जका लागि आवश्यक कुरा पूरा गर्न दुबै पक्ष सहमत हुनु पर्ने उनले बताए । एभरेष्ट र लक्ष्मी दुबै ‘सुन’ नै भएको प्रतिक्रिया दिदै उनले भने, ‘दुबै सुन नै हो तर सुनमा पनि २२ क्यारेट कि २४ क्यारेट हुन्छ नि !’

मर्जरका लागि बसेको पहिलो छलफलमा खेतान आए पनि पछिल्लो छलफलमा खेतान नआएको र उनका प्रतिनिधिहरुले २.७४ मा सहमति नजनाएको अध्यक्ष श्रेष्ठले बताए । लक्ष्मीसँगको मर्जर सम्भावना टर्नुको कारण मोततोल नै भएको उनको भनाइ छ ।

यस अघि अन्य बैंकमा पनि मर्जरको विषयमा छलफल भएको तर बैंकमा भएका कर्मर्चारी युनियनका कारण असफल भएको समेत बताए ।

अरु बैंकमा आफ्ना नातागोता कर्मचारी राखेका कारण युनियनका नाममा समस्या सिर्जना भए पनि आफ्नो बैंकमा कुनै त्यस्तो समस्या नरहेको उनको दाबी छ ।

पञ्जाव बैंकका सीईओको स्वागत

शुक्रबार एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंकका सीईओ सुनिल मेहताको स्वागतमा कार्यक्रम आयोजना गरेको थियो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको लगानी रहेको छ । पञ्जाव नेशनल भारतकै दोस्रो ठूलो र १२४ वर्ष पुरानो बैंक हो ।

भारतको अनारकली बजार लाहोरमा सन् १८९५ मा स्थापना भएको यो बैंक १९४७ मा भारतको विभाजन पछि लाहोरबाट दिल्लीमा सरेको थियो । यस बैंकले भारतमा ७ हजार शाखा कार्यालय र ९ हजार एटिएमबाट सेवा दिइरहेको छ ।

नेपालको एभरेष्ट बैंक २५ वर्ष अघि पञ्जाव नेशनलको समेत संयुक्त लगानीमा स्थापना भएको थियो ।

एक पटक पढ्नुहोस