शृंखला खतिवडा भन्छिन -लकडाउनमा बिहान बेलुकी उस्तै भएको छ।

धेरै भइसकेको थियो श्रृंखला खतिवडाले आफ्नो लागि समय नदिएको। मिस नेपाल भएपछि औपचारिक कार्यक्रमको व्यस्तता, सामाजिक जमघट र लगातार विदेश भ्रमणले घर बस्ने बानी नै हराइसकेको थियो।

लकडाउन सुरू भएपछिको फुर्सदमा उनले ती सबै इच्छा पूरा गर्न पाएकी छन्, जुन आफ्ना लागि साँचेकी थिइन्।

बाहिर हिँडडुल गरिरहने मान्छेलाई एक्कासि घर बस्नुपर्दा अत्यास लागेको छैन? हाम्रो यो प्रश्नमा उनले भनिन्, ‘अहँ, म त यो दिनचर्यामा रमाइरहेकी छु। खोइ किन हो मलाई पनि अचम्म लागेको छ।’

उनले अगाडि भनिन्, ‘साथीहरू फोन गरेर तँलाई निकै गाह्रो भएको होला है भनेर सोध्छन्। तर मलाई दुई वर्षपछि फेरि आफ्ना लागि समय बिताउन पाउँदा खुसी लागेको छ। सायद मेरो मनले यही खोजिरहेको थियो।’

अचेल श्रृंखलाको धेरैजसो समय अध्ययनमा बित्छ। बुद्धिसागरको ‘फिरफिरे’ र मनीषा कोइरालाको ‘हिल्ड’ पढेर भ्याइसकिन्। यसबाहेक आर्थिक र राजनीतिका लेख नियमितजसो पढ्ने बानी गरेकी छन्।

उनलाई पढ्न थालेपछि समयको अन्दाज हुँदैन। यसै पनि राति अबेरसम्म जागा बस्ने उनी अचेल त पढ्दा पढ्दै सुत्ने-उठ्ने तालिका नै खलबलिएको बताउँछिन्।

‘मलाई छिटो सुत्न मन लाग्दैन। किताब पढ्न थालेपछि कहिले त बिहानको पाँच बज्छ,’ उनी भन्छिन्, ‘कतै जानु नपर्ने र केही कामको हतार नभएपछि रातदिन उस्तै भएको छ। बूढापाकाले रात अरूको भन्थे, यहाँ रात मेरो भइसक्यो।’

ढिलो सुत्ने बानीले उनको आँखा बिहान ११-१२ बजेतिर मात्र खुल्छ। त्यसपछि केही बेर परिवारसँग बिताउँछिन्। अहिले उनका आमाबुवा हेटौंडामा छन्। उनी हजुरबुवा र भाइसँग काठमाडौंमा बस्छिन्।

लकडाउनले उनलाई परिवारसँग समय बिताउन र घरव्यवहार बुझ्न सिकाएको छ। घरमा फोहोर लिन आउने समय कति बेला हो, पानी र बिजुलीको बिल कति उठ्छ, कसरी तिर्ने, तरकारीको भाउ कति छ- उनी यस्ता कुरामा चासो दिन थालेकी छन्।

भन्छिन्, ‘आमाबुवासँग बस्दा घर आफैं चल्छ जस्तो लाग्थ्यो। यसपालि बल्ल घर कसरी चल्दो रहेछ बुझ्दैछु। मान्छेलाई परेपछि मात्र वास्तविकता थाहा हुँदो रहेछ।’

उनले दिउँसोको समय पूरै अध्ययनलाई छुट्टयाएकी छन्। किताब नभए इन्टरनेटमा राम्रा-राम्रा अनुसन्धान सामग्री खोजेर घोत्लिरहन्छिन्।

घरमा हजुरबुवा र भाइ मात्र भएकाले हल्लाखल्ला छैन। हजुरबुवा लेख्न-पढ्न रूचाउने हुँदा उनी आफूले पढेका कुरा सुनाउँछिन्। कहिलेकाहीँ हजुरबुवाले लेखेका लेख टाइप गरिदिन्छिन् र मेल चलाउन सहयोग गर्छिन्।

साथीहरूले उनलाई केही ‘सिरिज’ सिफारिस गरेका छन्। उनले ती पनि हेरेकी छैनन्। ‘सिरिज हेर्न बस्यो भने समय बितेको पत्तै हुन्न। त्योभन्दा बरू म अहिलेको समय अध्ययनमै लगाउन चाहन्छु,’ उनले भनिन्।

रातको समय उनी भान्सामा बिताउँछिन्। घरमा बिहानको खाना पकाउने जिम्मा भाइलाई र बेलुकीको उनलाई छ।

श्रृंखला खाना पकाउन सोखिन त होइनन्, तर अहिले फुर्सदको समय नयाँ-नयाँ परिकार पकाउन सिक्दै छिन्। ‘घर बसिरहँदा बाहिरका खानेकुराको धेरै याद आइरहेको छ। अरूभन्दा पिज्जा त एकदमै खान मन लागेको छ,’ भन्छिन्, ‘अब कहिले बाहिर निस्किन पाइएला ठेगान छैन। त्यसैले, आफैंले पिज्जा बनाउन कोशिस गरेकी थिएँ।’

‘सबभन्दा ठूलो कुरा त, मैले यो समय आफ्नो जीवन नजिकबाट नियाल्ने मौका पाएकी छु,’ उनले भनिन्।

पहिले उनलाई जीवन छिटोछिटो चलेजस्तो महशुस हुन्थ्यो। मिस नेपाल बनेपछि लामो समय निश्चित तालिकामा बाँधिएकी थिइन्। तारन्तार विदेश भ्रमण भइरहन्थ्यो। फर्किनेबित्तिकै अर्को कामको चटारो परिहाल्थ्यो। यसले न आफूलाई समय दिन भ्याएकी थिइन्, न त परिवारलाई।

‘एकचोटि ३५ दिनको भ्रमणबाट फर्केकी थिएँ। थकाइ मार्न नपाउँदै भोलिपल्ट बिहानै अर्को दौडधूप सुरू भयो,’ उनले भनिन्, ‘ती व्यस्त समयमा कहाँ के गरेँ भन्ने मैलाई याद छैन। अहिले ती भ्रमणका फोटाहरू हेर्दा त्यति बेला बिताएका कतिपय क्षण बिर्सेको देखेर आफैंलाई नराम्रो लाग्छ।’

‘हामी सबै आफ्नो काममा व्यस्त हुन्छौं, जिन्दगी कहाँ गइरहेको छ पत्तै हुँदैन। कतिपय रमाइला क्षण पनि नजरअन्दाज गरेका हुन्छौं। ती सबै समयलाई फर्केर हेर्ने र आफूले आफैंलाई मूल्यांकन गर्ने अवसर पनि यो हो,’ उनले भनिन्।

श्रृंखलाले यिनै कुरा ध्यानमा राख्दै डायरी लेख्न थालेकी छन्। उनी पहिले पनि व्यक्तिगत डायरी लेख्ने गर्थिन्। बीचमा रोकिएको थियो। लकडाउनमा फेरि पुरानो बानी सुरू गरेकी छन्।

उनी आफ्नो डायरीमा सिकेका कुराहरू टिपोट गर्छिन्। मिस नेपाल बनेपछिको जिन्दगीले उनलाई धेरै कुरा सिकाएको छ। उनी ती सब क्षणका लागि आभारी छिन्। देश-विदेशको यात्रा र नयाँ-नयाँ मान्छेसँगको भेटले उनलाई धेरै थोक सिकाएको छ। उनी ती सबै ज्ञान र संस्मरण आफ्नो डायरीमा संग्रह गरिरहेकी छन्।

‘२०१९ मेरो लागि सबभन्दा स्मरणीय साल रह्यो। त्यो समय मैले यति घुमेँ, प्लेन त घरजस्तै भइसकेको थियो। बीसवटा भन्दा बढी देश घुम्न पाएँ,’ आफ्नो भ्रमणका दिन सम्झिँदै उनले भनिन्, ‘मेरो क्यालेन्डर सधैं ‘प्याक’ हुन्थ्यो। कुन दिन कहाँ जाने र के काम गर्ने सबै त्यसमा टिप्थेँ। अहिले त्यही क्यालेन्डर रित्तो छ। सोच्छु, लकडाउन नभएको भए यो समय यो ठाउँ पुगेको हुन्थेँ होला, यो काम गरिरहेको हुन्थेँ होला।’

उनलाई आफ्नो नियमित काममा फर्कन नपाउँदाको बेचैनी त छ, सँगसँगै अहिलेसम्म भोगेका अनुभवलाई फर्केर हेर्न पाउँदा रोमाञ्चित पनि छिन्।

भन्छिन्, ‘धन्न उति बेलै घुमेछु। २०२० लाई पर्खेर बसेको भए ती कुनै पनि अनुभव बटुल्न पाउदिनँ थिएँ। संसार देख्न पाउँदिनँ थिएँ।’

एक पटक पढ्नुहोस