काठमाडौँ । उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको आजको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ उपत्यका भित्र रहेका कसैको पनि घरमा चुलो निम्भ नदिने र भोकै रहन नदिने व्यवस्था गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय भएको छ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘पछिल्लो समय संघीय सरकारले लकडाउ केही खुकुलो बनाउने निर्णय गरेको छ । यस्तो अवस्थामा पहिलाको जस्तो राहत वितरणलाई भने निरन्तरता दिइरहनुपर्ने खासै अवस्था नभएको ठहर नगरपालिका फोरमले गरेको छ । यद्यपि, उपत्यकावासी कसैको घरमा चुलो नै नबल्ने अवस्था रहेछ भने उनीहरुलाई सहयोग गर्न हामी तयार छौँ ।’
प्रमुख शाक्यले नेपाल सरकारले २०७७ बैशाख २६ गतेबाट लागू हुने गरी अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको भन्दै ती क्षेत्रहरु संञ्चालनमा सहजीकरण गर्दै लकडाउनलाई पालन गर्ने–गराउने निर्णय पनि बैठकमा भएको जानकारी दिए । ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको यस विषम परिस्थितिलाई मध्यनजर गरी आगमनलाई व्यवस्थित गर्न प्रस्थान विन्दुुमा कडाई गर्ने, पुग्नुपर्ने गन्तव्य स्थानका स्थानीय तहसँग पनि समन्वय गरेर मात्रै पठाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ,’ शाक्यले भने, ‘त्यसका लागि उपत्यका छिर्ने नाकामा आएपछि मात्रै सवारीलाई रोक्ने होइन कि जुन विन्दुबाट आउन खोजेको हो त्यहि बिन्दूबाटै आवत–जावत गर्न नदिने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय भएको छ । अत्यावश्यक कामका लागि उपत्यका छिर्नुपर्ने बाध्यता हो भने अनुमति लिएर मात्रै छिर्ने व्यवस्था गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’
