After header

यातायात व्यवस्था विभागले साथ दिएन नाकामा डिस्इन्फेक्सन टनेल राख्न

भक्तपुर । अरनिको राजमार्ग हुँदैं पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगातीमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिको पहलमा तयार भएको उक्त टनेल आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीको चेक पोष्ट नजिकै राखिएकोे ‘डिस्इन्फेक्सन टनेल’बाट अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसंक्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

थापाले भने, ‘नागढुङ्गापछि टनेल जगातीमा राखेका छौं, अन्य नाकामा पनि राख्ने तयारी छ । तर, यातायात व्यवस्था विभागले सहयोग गरेन ।’ सुन्दर यातायातले नेपाल सरकारसँग अनुमति लिएर संस्थागत लगानीमा नै टनेल राखेपनि यातायात व्यवस्था विगागलले भने साथ नदिएको उनको भनाई छ ।

‘हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन’, अध्यक्ष थापाले भने ।  एक हप्तामा सवारीलाई डिस्इन्फेक्सन गर्न ९ हजार २ सय २३ रुपैयाँको औषधी प्रयोग हुने यो टनेल निर्माणका लागि १ लाख ६६ हजार रुपैयाँ लागेको अध्यक्ष थापाले बताए ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले काठमाडौँ भित्रिने सवारी साधनलाई कोरोना भाइरस र अन्य संक्रमणको जोखिम कम गर्न मद्दत पुग्ने बताए । टनेलबाट ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसक्रमण गर्न सकिने छ ।

एक पटक पढ्नुहोस