सरकारी चिकित्सकको माग गर्यो डा. ज्ञवालीको नियुक्ति सच्याउन।

काठमाडौँ — सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र-भक्तपुरको कार्यकारी निर्देशकमा नियमविपरीत डा. प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएको भन्दै सरकारी चिकित्सक संघ नेपालले तुरुन्त सच्याउन सरकारसँग माग गरेको छ । सरकारले डा. पुकारचन्द्र श्रेष्ठको ठाउँमा डा. ज्ञवालीलाई सरकारले नियुक्त गरेको थियो ।

डा. ज्ञवाली हालै त्रिवि शिक्षण अस्पतालमा गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणमा समेत संलग्न थिए ।

मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश (२०६८) मा भएको व्यवस्थाअनुसार कार्यकारी निर्देशक नियुक्ति गर्दा ‘नेपाल सरकार स्वास्थ्य सेवा’ को हुनुपर्ने भनिए पनि उक्त व्यवस्थाविपरीत नियुक्ति गरिएको संघले उल्लेख गरेको छ । सरकारी चिकित्सकहरुले सोमबार स्वास्थ्य मन्त्रालय गएर नियुक्ति विरोध जनाएका थिए । मन्त्रालयका पदाधिकारीहरुले भने केन्द्रको गठन आदेश मन्त्रिपरिषद्‌ले नै परिवर्तन गरेर नियुक्ति गरेको जानकारी गराएका थिए

‘सरकारले एउटा व्यक्तिलाई नियुक्ति दिन गठन आदेशको कानुनी प्रक्रियासमेत रातारात परिवर्तन गर्नु भर्त्सनायोग्य कदम हो’, चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने । एउटा व्यक्तिलाई नियुक्ति गर्न सरकारले नियम परिवर्तन गरेको बारे कानुनी सल्लाह लिइरहेको र कानुनी उपचार खोजिने उनको भनाइ छ ।

‘पहिले सरकारी अस्पताललाई प्रतिष्ठान बनाइयो, त्यहाँ सरकारी चिकित्सकले काम गर्न नपाउने गरी अन्तमा विस्थापित गराइयो’, डा. पाण्डेले भने, ‘सरकारी निकायमा एक से एक योग्य चिकित्सक हुँदाहुँदै बाहिरबाट आफ्नो अनुकूल व्यक्तिलाई ल्याउनु सरकारी चिकित्सकको वृत्ति विकासमा गरिएको हमला नै हो ।’

संघका अनुसार मुलुकमा करिब १४ सय सरकारी चिकित्सक छन् ।

एक पटक पढ्नुहोस