खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ ।
बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा सोमबार फेला पारेर उद्धार गरिएको वडाध्यक्ष माधव राईले बताए । ‘बुबाबाट कुटिइने पवन शङ्करका साइँला छोरा हुन्’, उनले भने, ‘निर्घात कुटाइ खाएका पवनलाई नेर्पास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याएर थप उपचार थालिएको छ ।’
गरिब परिवारमा जन्मिएका पवनकी आमा ३५ वर्षीया मेनुका तामाङले दुई वर्षअघि अर्कैसँग दोस्रो विवाह गरेर गएपछि उनी बुबाको हेरचाहमा बसिरहेका थिए । पवनसँगै उनका जेठा दाजु १४ वर्षीय सविन, ११ वर्षीय माइला सङ्गम र छ वर्षीय कान्छा करण पनि बुबा शङ्करकै साथमा बस्दै आएका छिमेकीले बताएका छन् ।
