सुर्खेत । नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् ।
भारत अम्बिकडनगरबाट फर्केपश्चात बाबागञ्ज क्वारेन्टाइनमा बसेर आएका हिमा गाउँपालिका–१ सिञ्जा जुम्लाका गोगनबहादुर शाहीले बिहीबार राति सीमानाका पुगेपछि सबैलाई तरकारी मण्डीमा सुताइएको गुनासो गरे । घर फर्कने आशा लिएर फर्केको ४५ दिन भए पनि अझै घर पुग्न समस्या भएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा ७०० नेपाली आइपुगेको बताए ।
उपाध्यायले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट ७०० नेपाली जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको जनाए ।
यता कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबइमा आइपुगेकाको व्यवस्थापनमा स्वास्थ्य तथा सुरक्षाकर्मीको एकीकृत टोली खटाएको छ ।
सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी नभएकालाई बबइमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित स्थानीय तहको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
यसैबीच सेभ द चिल्ड्रेन मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।